संविधान परिमार्जनसभाको माग लिएर देशभक्त लोकतान्त्रिक पार्टी मैदानमा

0
41
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । अन्य राजनीतिक दलको भन्दा फरक ‘संविधान परिमार्जन सभा’ को एजेण्डा लिएर देशभक्त लोकतान्त्रिक पार्टी चुनावी मैदानमा उत्रिएको छ । मोरङ, जनकपुर, राजविराज, सर्लाही, पर्सा, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाका निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाएको देशभक्त लोकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहनशमशेर राणा भन्छन्– ‘देशभक्तिविनाको लोकतन्त्र र लोकतन्त्रविनाको देशभक्तिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्दैन । त्यसकारण खण्डित संविधानको पूर्णता, संक्रमणकालको अन्त्य, देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्नका लागि हामी संविधान परिमार्जन सभाको एजेण्डा लिएर चुनावी मैदानमा छौं ।’
लोकतन्त्रको नयाँ आयाम देशभक्तिको ऐना हो भन्ने नारा तय गरेको देशभक्त लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह पनि ऐना नै रहेको छ । संविधान परिमार्जनसभाद्वारा हिमाल, पहाड, तराई सबै अटाउने संविधान बनाउने प्रतिबद्धतासहित शान्ति, उन्मुक्ति, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि देशभक्त लोकतान्त्रिक पार्टीले जारी गरेको चुनावी प्रतिज्ञापत्रमा भनिएको छ– राष्ट्रनिर्माणको महायज्ञमा विभिन्न घुम्तीहरू पार गर्दै नेपाली जनताको अथक परिश्रमपछि पनि आफ्नो देशको मुहार फेरिनुको सट्टा देशै रहने कि नरहने स्थितिमा पुगेपछि देशभक्त नेपाली जनताहरू अलमल र निराश बनेका छन् । दलहरूको झण्डा, राजनीतिक परिवर्तन, शासकीय स्वरुप, सात प्रदेश, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता प्रस्तावनाहरूले त्राण पाइन्छ कि भन्ने आशा पनि गुमाइसकेका छन् । संविधानसभाको दुरुपयोगमार्फत् जारी गरिएको खण्डित संविधानले संक्रमणकालको अन्त्य नहुने, राष्ट्रले निकास र विकास नपाउने भएको हुँदा संविधान परिमार्जन सभा आजको देशभक्तिसहित दह्रो प्रतिपक्ष बनेर अगाडि आइसकेको छ । भ्रष्टाचारी, कालोबजारी, दलाल, कुलिनतन्त्र, राष्ट्रघाती, जनघाती डनहरू संविधान परिमार्जन सभाबाट भाग्नेछन् । शान्तिपूर्ण ढंगले उन्मुक्तिको नेपालपथ प्राप्त गर्न शान्ति र उन्मुक्तिको सुसंस्कृत राष्ट्रिय आन्दोलन, जसले विश्वशान्तिमा योगदान पु¥याउन सक्छ, यसैको निरन्तरताका लागि हामी निर्वाचनमा आएका छौं । घुम्ने मेचमाथिका अन्धा मान्छेहरूलाई यसको होश आएको छैन । राज्यका कुनै पनि अंगहरू विकृत भई चल्न सकिरहेका छैनन् । निर्वाचनपछि मुलुक कता जाने स्पष्ट छैन । हुनेखाने मान्छेका हातमा मात्र राज्यको संयन्त्र रहन पुगेको छ । जनताको मतको चिरहरण गरिएको छ । नेतृत्व नवऔपनिवेशिक राज्यको कठपुतलीमात्र सावित भएको छ । बाह्रबुँदे समझदारीपछि विकसित राजनीतिक परिवेशले मुलुकमा विखण्डन, गृहयुद्ध र वैदेशिक हस्तक्षेपलाई अझ गहिरो बनाउँदै दूर्घटनामा पु¥याउने जगजाहेर छ । देशभक्तिविनाको कुनै पनि तन्त्रको असफलता भोगिसकेका नेपाली जनता संविधान पुनर्लेखन, संशोधन, निर्वाचन वा कुनै आयोगप्रति आश्वस्त बन्न नसकिरहेको परिवेशभित्र संविधान परिमार्जन सभा, जो आजको देशभक्ति बनेको छ, त्यसको गठनको आवश्यकतालाई राष्ट्रको निकास र विकास बनाउन चाहन्छौं । जनता बृहत देशभक्त लोकतान्त्रिक महान नयाँ राष्ट्रिय एकता प्राप्त गर्दै संविधान र राजनीतिक शक्तिहरूलाई पनि परिमार्जन गर्नसक्ने नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय हेर्न चाहन्छन् । संविधान परिमार्जनसभाको साथमा देशको सत्ता देशभक्तहरूकै हातमा भएको उद्घोष लिएर हामी निर्वाचनमा आएका छौं ।