विद्यालय वरपर जंक फुड र ‘सुगर फुड’ निषेध

0
301
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं – छोराछोरीलाई ‘टिफिन’ के पठाउनुहुन्छ ? सजिलोका लागि चाउचाउ, चिप्स, चिजबल वा प्याकेटका खानेकुरा पठाउनुहुन्छ भने अब ख्याल गर्नुस् । अब विद्यालयहरूले यस्ता खाजामा प्रतिबन्ध लगाउँदैछन् । विद्यालयदेखि नै बालबालिकामा स्वस्थकर खानेकुरा खाने बानी बसाउन विद्यालय वरपर जंक फुड र चिनीको मात्रा बढी भएका ‘सुगर फुड’ निषेध गर्न लागिएको हो ।

जंक फुड निषेध प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँग समझदारी गरिसकेको छ । समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सबै विद्यालयले नर्स राखेरै स्वस्थकर खानेकुरा खाने, स्वस्थ रहने बानी र ज्ञान प्रवद्र्धन गराउनेछन् । सो अनुसार केही विद्यालयले नर्स राख्न सुरु गरिसकेको प्याब्सनले जनाएको छ ।

बाल्यकालदेखि नै स्वास्थ्य शिक्षा र स्वस्थकर खाना खाने बानी विकास गर्नसके मात्रै निरोगी बन्न सकिने सरकारको निष्कर्ष

प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले जंक फुड र गुलिया पेयपदार्थ बेच्न रोक लगाउन र प्रयोग निरुत्साहित गर्न सदस्य विद्यालयलाई निर्देशन जारी भइसकेको बताए । ‘निर्वाचन आदि कारणले अनुगमन हुनसकेको छैन,’ उनले भने, ‘अब अनुगमन पनि हामी आफैं गर्छौं ।’ सम्बाहाम्फेले धेरै विद्यालयले अहिले पनि जंक फुड प्रयोग रोकिरहेको भन्दै अब सबैमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताए । उनले नर्स राख्न विद्यालयले धमाधम आवश्यकतासम्बन्धी विज्ञापन निकालिरहेको जानकारी दिए ।

सजिलोका लागि अधिकांश अभिभावकले छोराछोरीलाई खाजा जंक फुड पठाउँछन् । पोषणविद्का अनुसार जंक फुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौस्टिक तत्व हुँदैनन् । यस्ता खानेकुरा प्रयोगले विशेषगरी शारीरिक र मानसिक विकासमा ह्रास ल्याई दीर्घकालीन रुपमा अनेकौं स्वास्थ्य समस्या निम्तिन्छ ।

चिकित्सकका अनुसार पछिल्ला दिनमा नसर्ने खालका रोग मुटु, मधुमेह, उच्च रक्तचापको प्रमुख कारक जंक फुड, फास्ट फुड, बढी चिल्लो भएका, नुनिला र तारेका खानेकुरा हुन् । यस्ता खानेकुरा खाँदा रोगसँगै अल्छी लाग्ने, निद्रा नलाग्ने, अत्यधिक मोटोपन, डिप्रेसन, हड्डी कम्जोर बनाउने जस्ता समस्या देखापर्छन् ।

पूर्ववर्ती स्वास्थ्यमन्त्री गगन थापाले उपचारले मात्रै स्वास्थ्यसेवामा राज्यको खर्च घट्न नसक्ने र स्वास्थ्य आनीबानी विद्यालय तहदेखि नै प्रवद्र्धन गर्नुपर्ने भन्दै प्याब्सन पदाधिकारीसँग विभिन्न चरणको वार्ता गरेर उनीहरूलाई यसमा सहमत गराएका थिए । यसअघि नै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा समेत जंक फुड प्रतिबन्ध लगाउने उल्लेख छ तर धेरै विद्यालयले त्यसमा ध्यान दिएका छैनन् ।

प्याब्सन विद्यालयवरपर गुलिया पेय पदार्थ बिक्री रोक्नसमेत सहमत भएको छ । प्याब्सन र मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबीच जेठ तेस्रो साता भएको सम्झौतामा विद्यालयमा स्वस्थकर खाना खानेबानी प्रवद्र्धनसँगै स्कुलमा नर्स राखेर विद्यालयले स्वास्थ्य शिक्षासमेत दिने उल्लेख छ ।

केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सम्झौतामा विद्यालयले विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने र नियमित स्वास्थ्य परीक्षण, दिवा खाजामा पोषण तŒवयुक्त पदार्थ पठाउन अविभावकलाई मेनु उपलब्ध गराएर प्रेरित गर्नेसमेत उल्लेख रहेको बताउँछन् ।

विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरीलाई प्रोटिन, मिनरल, कार्बोहाइड्रेट, क्यालोरी, फ्याट, र भिटामिनयुक्त खाना आवश्यक पर्छ । त्यसका लागि सकेसम्म ताजा र घरैमा बनेका पौस्टिक तत्व पाइने खाना मकै, भटमास, चना, रोटी, आलु, सागसब्जी, फलफूलजस्ता खानाको प्रयोग बढाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘नर्स अनिवार्य’
बाल्यकालदेखि नै स्वास्थ्य ज्ञान र स्वस्थकर खाना खाने बानी विकास गर्नसके मात्रै निरोगी बन्न सकिने भन्दै सरकारले विद्यालयमा नर्स अनिवार्य राख्ने तयारी गरेको छ । निर्देशक खड्काका अनुसार यो वर्षको वार्षिक कार्यक्रममै स्कुलमा नर्सको व्यवस्था गर्ने कार्यक्रम परेकाले यो सरकारको प्राथमिकतामा रहेको छ ।

‘पहिलो चरणमा प्याब्सनसँग सहमति भइसकेकाले निजी विद्यालयमा नर्स राख्ने काम हुन्छ,’ खड्काले भने, ‘विस्तारै सरकारीमा पनि लागू हुन्छ,’ । देशभर हाल ३० हजारको हाराहारीमा विद्यालय छन् । तीमध्ये ७ हजार भन्दा बढी निजी विद्यालय छन् । हाल ७० हजारजति नर्स काउन्सिलमा दर्ता भएको नर्सिङ काउन्सिलले जनाएको छ ।

प्याब्सनसँगको सम्झौतामै विद्यालयमा राखिने नर्सले के÷के गर्ने भन्ने उल्लेख छ । ती नर्सले बच्चाको शारीरिक र मानसिक स्वास्थ्य ख्याल गर्ने, विद्यालयमा लाग्ने घाउचोटको प्राथमिक उपचार गर्ने र स्वस्थकर खाना प्रवद्र्धनार्थ पहल गर्नेछन् । मन्त्रालयले विद्यालयमार्फत बालबालिकाको आँखा, किड्नीजस्ता अंगको परीक्षण एवं चेतना बढाउने जनाएको छ । स्कुल नर्सहरू ‘मेरो स्वास्थ्य मेरो वर्ष अभियानअन्तर्गतका पाँच प्रतिबद्धता म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र परिवार तथार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ को प्रवद्र्धन गर्ने छन् ।  यसबाट स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास खड्काको छ ।  स्कुल नर्सले नियमित रुपमा पाठ्यक्रममा रहेको स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, परिवार नियोजन, महिनावारी, किशोरावस्थासम्बन्धी समस्या, सरसफाइ रहने र पोसिलो खाना खाने तरिका, कम उमेरमा विवाह गर्दा आउने समस्या, सुरक्षित यौनव्यवहार र गर्भधारण जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयमा ज्ञान दिनेछन् ।