राप्रपाको धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्रको अभियानलाई अझ सशक्त बनाउने निर्णय

0
227
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं/ स्थानीय तह हुँदै राज्यका तीनवटै तहका निर्वाचन सम्पन्न गर्ने अधिकांश आधार तय भए पनि सरकारका लािग संविधान संशोधन सकसपूर्ण बन्दै आएको छ । प्रमुख प्रतिपक्षी दलको विरोध, सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताबीचको फरक मतबीच अल्झिएको विधेयक कहिले चर्चामा त कहिले सेलाउँदै आएको छ ।

तर व्यवस्थापिका संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि भने सत्तारूढ दललाई राहत हुने देखिएको छ । राप्रपाले संसद्मा पेस भएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संशोधनमा निर्णायक मानिएको राप्रपा विधेयकको पक्षमा उभिएपछि  राष्ट्रिय जनशक्ति पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन सकिने भन्दै सत्तारूढ दल उत्साहित बनेका छन् । राप्रपा बैठक संशोधनको पक्षमा एक मतका साथ अघि आएकै दिन सत्तारूढ दलका नेताले अब पुनः सरकार विस्तारसँगै संशोधनको एजेन्डाले संसद्मा प्रवेश पाउने बताएका छन् ।

राप्रपाले संशोधनका पक्षमा स्पष्ट अडान कायम गर्न नसकेपछि सरकारले विधेयक होल्ड गर्ने निर्णय गरिसकेको छ । ‘अब सायद विधेयक तत्काल अघि बढ्छ र पारित पनि हुन्छ,’ राप्रपाको निर्णयलगत्तै सरकारका एक मन्त्रीले भने ।

विधेयकप्रति विमति नरहेको भन्दै राप्रपाले संशोधनका पक्षमा मतदान गर्ने स्पष्ट पारेको हो । शुक्रबार केन्द्रीय समिति बैठक समापनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन पेस भएको संशोधनका पक्षमा राप्रपाको कुनै विमति नरहेको भन्दै पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सरकारमा सहभागी हुनु र संशोधनका पक्षमा मतदान गर्नु फरक कुरा भएको उल्लेख गर्दै सरकारमा सहभागी हुनु र नहुनुमा संशोधन नजोडिने समेत प्रस्ट पारेका छन् । उनले सरकारमा सहभागिताबारे बैठकले कुनै निर्णय नगरेको समेत बताए ।

‘संविधान संशोधन र सरकारमा सहभागिता अलग कुरा हो, सरकारमा सहभागी हुँदा मात्रै संशोधनमा सहभागी हुने भन्ने होइन, संशोधनका विषयमा हाम्रो प्रस्ट निर्णय भएको छ, राप्रपा संसद्मा पेस भएको संशोधनको पक्षमा छ, तर सरकारमा सहभागिताबारे कुनै निर्णय भएन,’ अध्यक्ष थापाले भने ।

उनले पार्टीभित्र केही विषयमा असहमति आए कार्यसम्पादन समितिले मिलाउने भन्दै त्यसका लागि समितिलाई अधिकार दिएको समेत बताए । ‘हाम्रो पार्टीभित्र गुटबन्दी छैन, मतभेद पनि छैन, केही कुरामा असन्तुष्टि र असमझदारी हुन सक्छ, त्यसलाई कार्यसम्पादन समितिले मिलाउँछ,’ थापाले भने ।

तीन दिनदेखि जारी बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र  विश्लेषण गर्दै पार्टीको वैचारिक सांगठनिक कार्यदिशासम्बन्धी कार्यपत्र अनुमोदन गरेको छ ।

फेरि ब्युँतियो हिन्दू राष्ट्र

बैठकले हिन्दू राष्ट्र स्थापना, भ्रष्टाचारमुक्त अभियान र समग्र राष्ट्रिय विकास नै मूल एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ । यस्तै महाधिवेशनबाट पारित पार्टीको सिद्धान्तअनुरूप सर्वधर्म समभावअनुसार पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको अभियानलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।

राप्रपाले मधेसका शक्तिलाई संविधानको मूल प्रवाहमा ल्याउँदै निर्वाचनमा सहभागी गराउने गरी अघि बढ्न सरकार र सबै दललाई आग्रहसमेत गरेको छ । सरकारमा सहभागिताबारे प्रधानमन्त्रीबाट प्रस्ताव आएपछि प्रस्तावको औचित्य र पार्टी नीतिलाई आधार मानेर निर्णय लिने अध्यक्ष थापाले बताए ।

बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको समेत समीक्षा भएको छ । सो विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न राप्रपाले महामन्त्री धु्रवबहादुर प्रधानको संयोजकत्वमा एक समितिसमेत बनाएको छ । सो समितिलाई तेस्रो चरणको समेत समीक्षा गर्ने अधिकार दिइएको छ । यस्तै आगामी २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि समिति समेत गठन गरेको छ ।

हल गोरुले हरायो

राष्ट्रिय प्रजातन्त्र पार्टी मतपत्रमा उम्मेदवारबिनाको हलगोरु निर्वाचन चिह्न हुँदा धेरै स्थानमा आफ्ना उम्मेदवार हार्नुपरेको निष्कर्षमा पुगेको छ । उसले हलगोरु निर्वाचन चिह्न मतपत्रमा रहेकाले राप्रपाको गाई जस्तै देखेर धेरै मतदाताको मत राप्रपालाई नआएर हलगोरुमा गएको बताएको हो । शुक्रबार आयोजित पार्टीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले हलगोरुका कारण राप्रपाका उम्मेदवार धेरैजसो स्थानीय तहमा जितको नजिक पुगेर पनि हार्नुपरेको बताए ।

उनले मतपत्रबाट जोडा गोरु निर्वाचन चिह्न हटाउन निर्वाचन आयोगसँग मागसमेत गरेका छन् । ‘जोडा गोरु चुनाव चिह्न लिएर कोही पनि निर्वाचन लडेको छैन, तर त्यसले गर्दा गाईलाई आउने मत खेर गयो, हाम्रो बैठकले सो निर्वाचन चिह्न मतपत्रबाट हटाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ,’ अध्यक्ष थापाले भने । हलगोरु तराई मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न थियो । सो पार्टीसहित अन्य पाँचवटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको गठन भएकाले अहिले तमलोपा पार्टी  छैन । संसद्मा यो पार्टीका नामबाट सांसद रहेकाले निर्वाचन आयोगले भने मतपत्रमा चुनाव चिह्न राखेको थियो । राजपाले भने दुवै चरणको निर्वाचन बहिष्कार गरेको छ ।