लघुवित्त विकास बैंकहरूको नाफा घट्ने

0
196
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौंः लघुवित्त विकास बैंकहरूको नाफा घट्ने देखिएको छ । अधिकांश लघुवित्तले गत आर्थिक वर्ष (२०७३/७४)को वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नै रहे पनि प्रारम्भिक विश्लेषणका आधारमा यस्तो अवस्था देखिएको हो ।

गत आवमा वित्तीय क्षेत्रमा देखिएको कर्जा लगानीयोग्य रकम अभावको असर लघुवित्तलाई पनि परेको हुनाले नाफा घट्ने भएको हो ।बैंकहरूवाट फण्ड लिँदा नै धेरै व्याज तिर्नु परेकाले लघुवित्तको कस्ट अफ फण्ड(लागत खर्च) बढेको माइक्रोफाइनान्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले बताए । “बैंकहरूले बेस रेटभन्दा तल लगानी गर्न नपाउने व्यवस्थाले गर्दा माइक्रोफाइनान्सको लागत खर्च बढ्को हो,” जोशीले भने, “माइक्रो फाइनान्सले फण्ड जुटाउँदा नै धेरै लगानी गर्नु परेपछि त्यसको प्रत्यक्ष असर नाफामा पर्छ ।”

बैंक तथा वित्तीय संस्थाहरूले चाहेर पनि माइक्रोफाइनान्सलाई लगानी गर्न सक्ने अवस्था नभएकाले फण्ड अभावको समस्या आएको जोशीले बताए । “वित्तीय क्षेत्रमा देखिएको कर्जायोग्य लगानीको अभावले बैंक तथा वित्तीय संस्थाहरूको लागत समेत बढाएको छ,” उनले भने, “पछिल्लो समयमा फण्ड उपलब्धता केही सहज हुँदै आएको छ ।” बैंकहरूले निक्षेप बढाउन फोकस गर्दा ब्याजदर बढेको छ । बैंक तथा वित्तीय संस्थाहरू लगानी गर्ने अवस्था नभएको कारणले पनि माइक्रोफाइनान्सहरूमा देखिएको फण्ड अभावको समस्या अझै पनि समाधान भइसकेको छैन ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नुपर्ने व्यवस्था हटाएको छ । त्यो २ प्रतिशत पनि अब माइक्रोफाइनान्समार्फत नै आउने भएपछि त्यसलाई भने सकारात्मक रूपमा लिएको जोशीको भनाइ छ ।  वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरूले ४.५ प्रतिशत र वित्त कम्पनीहरूले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्छ । त्यो कर्जा प्रत्यक्ष नभइ माइक्रोफाइनान्समार्फत गर्दा पनि हुन्छ ।

मौद्रिक नीतिको व्यवस्थाले चालू आर्थिक वर्षमा फण्ड उपलब्धतामा केही सहज भए पनि गत आर्थिक वर्षका पछिल्ला २ त्रैमासमा माइक्रोफाइनान्सको लगानी क्रमिक रूपमा घटेको उनले जानकारी दिए ।

गत आर्थिक बर्षको चैत मसान्तसम्ममा माइक्रोफाइनान्सहरूको औसत कस्ट अफ फण्ड ७ प्रतिशतभन्दा धेरै छ । हाल बैंकहरको बेस रेट नै १० देखि ११ प्रतिशत रहेको छ । त्यो लागतमा कर्जा लिएर माइक्रोफाइनान्सले १८ प्रतिशतभन्दा माथि ब्याजदर नलिनेगरी लगानी गर्दा संस्था सञ्चालनका लागि नै समस्या हुने जोशीको भनाइ छ ।

माइक्रोफाइनान्सले कष्ट अफ फण्डमा कर्जा उपलब्ध गराउन माग गर्नु स्वभाविक रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । बैंकहरूले बेस रेटभन्दा तल गएर लगानी गर्न पाउँदैनन्,” पौडेलले भने, “त्यसरी माग्न पनि  मिल्दैन, कस्ट अफ फण्डमा दिन पनि मिल्दैन ।” संस्था सञ्चालन गर्न समेत समस्या हुनसक्ने भन्दै केन्द्रीय बैंकमा पनि आएको  पौडेलले बताए । मौद्रिक नीतिले बैंकलाइ प्रत्यक्ष रूपमा विपन्न वर्गमा गर्न भनेको लगानी फिर्ता गरेर माइक्रोफाइनान्समार्फत नै जाने बाटो खुलाइदिएको हुनाले समस्या नहुने उनको तर्क छ ।

गत आर्थिक वर्षको चैतमसान्तसम्ममा केही माइक्रो फाइनान्सको कस्ट अफ मात्रै १० प्रतिशत भन्दा धेरै छ । औसतमा माइक्रोफाइनान्सको कष्ट अफ फण्ड ८ प्रतिशत र सञ्चालन खर्च ८ प्रतिशत हुँदा अधिकता १८ प्रतिशतमा कर्जा प्रवाह गरेका संस्थाको नाफा २ प्रतिशत मात्र हुन्छ । औसतमा सञ्चालन खर्च ८ प्रतिशत रहेको संस्थाको सञ्चालन खर्च नियन्त्रणमा नै रहेको बुझिन्छ ।