अगस्ट भित्रै आक्रमण गर्ने उत्तरको चेतावनी

Royal Times
Read Time:6 Minute, 20 Second

एजेन्सी । उत्तर कोरियाले यसै मध्य अगस्टमा अमेरिकी नियन्त्रणमा रहेको प्रशान्त क्षेत्रको गुआम द्वीपनजिकै चारवटा मिसाइल प्रहार गर्ने योजना रहेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले सेना प्रमुख किम राक ग्योमलाई उद्धृत गर्दै ह्वासङ–१२ रकेट जापान र अमेरिकी नियन्त्रणमा रहेको गुआमको ३० किलोमिटरनजिकै पुग्नेगरी लन्च गर्नका लागि नेता किम जोङ–उनले स्वीकृति दिइसकेको जनाएको छ ।  अमेरिकाले उत्तर कोरियामाथि सोच्दै नसोचेको भयानक आक्रमण गर्ने धम्की दिएलगत्तै उत्तर कोरियाले चारवटा मिसाइल आक्रमण गर्ने तयारी रहेको बताएको हो । अमेरिकाले उत्तर कोरियाले मिसाइल प्रहार गरेमा किम जोङ–उनको शासन सत्ताको अन्त्य हुने र ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिएको थियो ।

अमेरिकी रक्षामन्त्री जेम्स माटिसले प्योङयाङलाई अमेरिका र अमेरिकानिकटका राष्ट्रमाथि आक्रमण भएमा त्यो उसका लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । बीबीसीले गुआममा रहेका संवाददातालाई उद्धृत गर्दै उत्तर कोरियाले आक्रमण गरेमा त्यो उत्तर कोरियाली किम शासनका लागि आत्मघाती हुने बताएको छ । यसैबीच गुआमका गभर्नरले गुआममाथि आक्रमण भएमा त्यो अमेरिकामाथि भएको आक्रमणका रूपमा लिइने र यस्तो आक्रमण उत्तर कोरियाका लागि ‘आगोको घेरा’ हुनसक्ने चेतावनी दिएका छन् ।

कुनै पनि अमेरिकी भूभागमाथिको आक्रमण उत्तर कोरियाका लागि आगोमा खेल्नुसरह हुने उनको भनाइ थियो । बिहीबारमात्रै मध्य अगस्टसम्म गुआमनजिकको पानीमा उत्तर कोरियाली मिसाइल प्रहार गर्ने योजना सार्वजनिक भएलगत्तै गभर्नर इड्डाई काल्भोले उत्तर कोरियाली नेतालाई यस्तो चेतावनी दिएका हुन् ।  केही गुआमवासीले भने उत्तर कोरियाले आक्रमण गर्ने अवस्थामा आफूहरूलाई बचाउन अमेरिकी सेना सक्षम हुने विश्वास व्यक्त गरेका छन् भने केहीले त्यहाँ आकस्मिक रूपमा आक्रमण भएमा के गर्ने भन्ने बारेमा समेत छलफल गरेको अल जजिराले जनाएको छ ।

गुआमका स्थानीयवासी केट क्विमबाओले भनिन्, ‘वास्तममा नै यो डरलाग्दो अवस्था हो । हामी कहाँ जाने र कसरी सुरक्षित हुने भन्ने बारेमा म मेरो परिवारसँग सल्लाह पनि गरिरहेकी छु ।’ करिब १ लाख ६३ हजार जनसंख्या रहेको सो टापुमा अमेरिकी एयरबेससहित ६ हजारभन्दा बढी अमेरिकी सैनिक कार्यरत रहेका छन् ।

उत्तर कोरियाले बिहीबार मात्रै गुआममाथि मिसाइल प्रहारबारे योजना बनाइरहेको खबर सार्वजनिक भएपछि झनै खतरा उत्पन्न भएको संकेत गरेको छ । सरकारी समाचार एजेन्सी केसीएनएले सैनिक भनाइलाई उद्धृत गर्दैै मिसाइल प्रहारको योजना तयार भएको र नेता किम जोङ–उनसमक्ष पुगेको जनाएको छ ।

कोरियाली सेनाले परीक्षण गर्ने ह्वासँग–१२ जापानको सिमाने, हिरोसिमा र कोचीमाथिबाट गुआम द्वीप क्षेत्रमा जाने केसीएनएले सैनिक प्रमुख किम राक–ग्योनले जनाएको उल्लेख गरेको छ । ती मिसाइल १ हजार ६५ सेकेन्डमा ३ हजार ३ सय ५६ किलोमिटर लामो दूरी पार गरी गुआमको ३०÷४० किलोमिटरनजिक समुद्रमा खस्नेछन् । ह्वासङ मिसाइल उत्तर कोरियामा निर्माण भएको मध्यम र लामो दूरीमा प्रहार गर्न सकिने हतियार हो । उत्तर कोरियाले पछिल्लो समयमा अमेरिकी क्षेत्रमा नै आक्रमणको धम्की दिएपछि त्यस क्षेत्रमा अर्को तनाव उत्पन्न भएको छ ।

जापानले उत्तर कोरियाको धम्कीलगत्तै उच्च सतर्कतामा रहन भनेको छ । जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले उत्तर कोरियाको गतिविधि जापान र अन्तर्राष्ट्रिय समुदायलाई समेत उत्तेजित बनाउने खालको भएको भन्दै आलोचना गरेका छन् । यसप्रकारका उत्तेजक गतिविधि आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।

यसैबीच उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम इल सङ स्क्वायरमा उत्तर कोरियाली नागरिकले अमेरिकी धम्कीको विरोध गर्दै विशाल प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा उत्तर कोरियाका वरिष्ठ अधिकारीहरू किम की नाम, चोए थाए बुक, री सु योङ, किम योङ देसहितको उपस्थिति  रहेको थियो । सेतो पोसाकमा उपस्थित भएका उनीहरूले उत्तर कोरियामाथि अमेरिकाले दिएको धम्की र प्रतिबन्धको विरोध गर्दै कोरियाली झन्डा र नेता किम इल सङको तस्बिरसमेत लिएर प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमा उत्तर कोरियाका विद्यार्थी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

‘युथ फर युथ’द्वारा विविध कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को सन्दर्भ पारेर युवा सशक्तिकरणको अभियानमा सक्रिय संस्था ‘युथ फर युथ’ले विविध कार्यक्रमहरुको आयोजना गरेको छ । विश्व युवा दिवसको दिन शनिवार विहान प्रभातफेरी बाट शुरु भएको कार्यक्रम युवा जागरण, युवा नेतृत्व विकास प्रशिक्षण तथा सरसफाई लगायतका कार्यक्रमहरु संचालन गरिएको थियो । यस्तै संस्थाले […]