समाजलाई मन देखि जोड्न सबै लाग्नु पर्छ – कलाकार कट्टेल

0
184
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

हास्यव्यंग्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ शनिबार हेटौंडामा पुरस्कृत भएका छन् । सामूहिक बस्ती निर्माणमा लागिपरेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट यी दम्पत्ति पुरस्कृत भएका हुन् ।  हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा साहित्य संगम र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा स्थापना गरेको ‘भैरव स्मृति पुरस्कारबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुरस्कृत गरिएको हो । फाउन्डेसनका अध्यक्ष हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले कार्यक्रममा सो पुरस्कार ग्रहण गरे । उनलाई प्रा. डा. तथा साहित्यकार सुधा त्रिपाठीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । पुरस्कारस्वरूप २१ हजार १ सय ११ रुपैयाँ र ताम्रपत्र प्रदान गरियो ।

पुरस्कार ग्रहग गर्दै सिताराम कट्टेलले समाजलाई मनैदेखि जोड्न सबै लाग्नुपर्ने बताए । दृढताका साथ काम गरे असम्भव केही नभएको उल्लेख गर्दै उनले आफूले पीडामा रहेका सर्वसाधारणलाई बस्ती निर्माण गरेर सरकारलाई नै सहयोग गरेको उल्लेख गरे । रौतहटको वसन्तपुरमा अहिले निर्माण भइरहेको बस्ती दुई महिनामा निर्माण पूरा गरेर हस्तान्तरण गर्ने कट्टेलले जानकारी दिए । तर बस्ती निर्माणमा २ करोड बढी रकम अपुग भएको बताए । कार्यक्रममा हेटौंडावासी कैलाश ढकालले २१ र तीर्थदेवी सिलवालले ११ हजार रुपैयाँ बस्ती निर्माणका लागि कट्टेललाई प्रदान गरेका थिए ।

‘एकदशकदेखि हास्यव्यंग्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकार तथा कलाकारलाई प्रदान गर्दै आएको पुरस्कार यस वर्ष हास्यकलाकारका रूपमा स्थापित भएर सामाजिक सेवामा सक्रिय फाउन्डेसनलाई प्रदान गरिएको हो ।’ कलाकारिता कर्मसँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संगमकी उपाध्यक्ष अनिता न्यौपानेले बताइन् । संगमका अध्यक्ष निमेष निखिलले सो पुरस्कारबारे थप प्रकाश पारेका थिए ।  कार्यक्रममा हास्यव्यंग्यकार राजकुमार लामिछानेको पुस्तक ‘पुतलाको पावर’ साहित्यकार त्रिपाठी र हास्यकलाकार कट्टेलले संयुक्त विमोचन गरेका थिए  । कार्यक्रममा व्यंग्यकार आरसी रिजाल, भैरव अर्यालका सुपुत्र दीपक अर्याल, साहित्यकार अप्सरा तिम्सिना, नवराज तिमल्सिना, आन्नदराम पौडेललगायतले भैरव अर्यालको नेपाली साहित्यमा योगदान र धुर्मुस सुन्तलीको नेपाली कलासँगै सामाजिक कार्यमा योगदानबारे चर्चा गरेका थिए ।