गौरवशाली राष्ट्र नेपालप्रतिको हाम्रो दायित्व

0
28
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

– जगत गौचन


नेपाल राष्ट्र विश्वकै सबैभन्दा उच्च भूभागमा अवस्थित पवित्र पावन भूमि हो । जसरी मानव शरिरको सबै भन्दा उच्च भागमा शिर रहेको हुन्छ र त्यसमा मस्तिष्क (दिमाग) हुन्छ जसले सोच्ने, विचार गर्ने, चिन्तन गर्ने कार्य गर्दछ । त्यै चिन्तनको आधारमा शरिर निर्देशीत, चलाएमान हुन्छ । त्यसरी नै विश्वको सर्वोच्च स्थानमा रहेको यो हिमवत् खण्ड पवित्र भूमी नेपाल विश्वलाई निर्देशित गर्ने मस्तिष्कको अजश्र श्रोत हो । यो हिमवत खण्डको कैलाशकुट पर्वतमा देवादिदेव महादेव विराजमान रहन्छन् । त्यै पर्वतको करिब उन्नाइस हजार फिटको उचाईमा सत्ययूगमा सप्त ऋषीहरूले तपस्या गर्दथे । त्यतिबेला नै वेद, वेदान्त उपनिषदहरूको चिन्तन गरिएको हो । हिन्दु दर्शनको त्यति बेलानै चिन्तन भएको थियो । त्यो हाम्रो दर्शनलाई युरोपियन मुलुकहरू, अमेरिकनहरूले गहन अध्ययन गरेर त्यसको सारतत्वलाई सदुपयोग गरेर उन्नतीको शिखरमा पुगे । यो एउटा यथार्थ हो । हिन्दुस्थानी विद्धानहरूको हिन्दु दर्शनको उद्गम स्थल भारत वर्ष हो भन्ने भनाई रहेको छ । तथापि हिन्दु दर्शन हिमवत्खण्ड नेपाल भूमिमा चिन्तन गरिएको हो र यसले भारत वर्षमा व्यापकता पाएको हो । यस्तो गौरवशाली इतिहास, पृष्ठभूमि बोकेको महान राष्ट्र नेपाल आज पराधिनता तर्फ उन्मुख भैरहेको छ । हाम्रो राष्ट्रिय स्वाधिनता, गौरवमा आँच आईरहेको छ । हाम्रो धर्म संस्कृति, राष्ट्रिय एकताका प्रतिक शाह वंशीय राजसंस्था माथी योजनावद्ध रुपमा प्रहार भैरहेको छ । हामी वीर नेपालीहरू किंकर्तव्य विमुख भएर विवसतापूर्वक टुलु–टुलु हेरेर बसेका छौ । हाम्रो पूर्खाहरूले हामीलाई गौरवशाली इतिहास सुम्पेर गएका थिए त्यसलाई अझ उच्च बनाएर हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नु नै हाम्रो दायित्व हुन जान्छ । त्यसको लागी देशलाई माया गर्ने एउटा राष्ट्रवादी संगठनको टडकारो आवश्यकता भएको छ । त्यो उद्देश्य प्राप्तिको लागी सबै देशभक्तहरू सानो तिनो झिना मसिना कुराहरूलाई छोडेर एक ढिक्का भएर अगाडी बढ्नु पर्ने आवश्यकता छ ।

वर्तमान देशको परिस्थिति
हाल मुलुक अत्यन्त असहज स्थितिबाट गुज्रीरहेको छ । नेपाली जनताले मुलुकमा शुसासन कायम होला, मुलुक समृद्धिको दिशा तर्फ उन्मुख होला, राष्ट्रियताको जग बलियो होला भन्ने अपेक्षा गरेर वामपन्थीहरूलाई भारी बहुमत दिए । झण्डै दुई तिहाइको सरकार बनाउने अवसर दिए तर मुलुक झन् अधोगतीतर्फ जान थाल्यो । भ्रष्टाचार बढेर गयो । महंगी चरम चुलीमा पुग्यो । अराजकता, अन्यौलता व्याप्त भयो । वाईडबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवास काण्ड छानविन हुँदै जाँदा सरकारकै उच्चतहका नेताहरूको संलग्नता देखियो र फायल बन्द भयो । निर्मला हत्या काण्डका हत्याराहरू सरकारकै संरक्षणमा खुलेआम हिँडिरहेका छन् । कर वृद्धिले जनताको ढाड सेकिएको छ । व्यापार घाटा बढोत्तरी छ । आयातको तुलनामा निर्यात न्यून छ । राष्ट्र बैंकको ढुकुटी खाली हुँदै गैरहेको छ । विदेशी लगानी शुन्य छ । धेरै राष्ट्रिय उद्योगहरू बेचिएका छन् । धेरै बन्द छन् । शेयर बजार खस्किदै गैरहेको छ । यूवाहरू विदेशिने क्रम एकदमै बढेर जाँदै छ । एनसेल कर काण्ड, गोर्कण रिर्सोट काण्डमा सरकार नाङ्गिएको छ । भष्टाचारमा सुन्ने सहनशिलता भन्ने प्रधानमन्त्रीको भनाई उपहास भएको छ । यो निश्चित रुपमा शुभ संकेत होइन । मुलुक असफल राष्ट्र हुनेतर्फ द्रुतगतिमा अगाडी बढीरहेको छ । सबैभन्दा दुःखद कुरा मुलुक पराधिनतातर्फ उन्मुख भैरहेको छ । गौरवशाली इतिहास बोकेको हाम्रो देशको राष्ट्रियता यति कमजोर कहिल्यै पनि भएको थिएन । राष्ट्रको स्वाभिमान गिरेको छ । तर राजनैतिक पार्टीका नेताहरू शुशासन र समृद्धिको कुरा गरेर थाक्दैनन । चाहे त्यो गुठि विधेयकको विरुद्धमा होस् या पत्रकार रबी लामिछाने काण्ड होस् । जसरी जनता सडकमा उत्रिएका छन् यो सरकार प्रतिको अविश्वासको द्योतक हो । असन्तुष्टि र आक्रोश हो ।
विगत २०४६ सालको राजनैतिक परिवर्तन हुँदै २०६३ सालको दोस्रो जनआन्दोलन पश्चात यहाँसम्म आईपुग्दा हाम्रो देशमा फिरङ्गिहरूको चलखेल चर्को रुपमा बढेको छ । त्यसलाई हेर्दा २०४६ साल अगाडिको शासकहरू राष्ट्रवादी, देशभक्त थिए भन्ने स्पष्ट हुन्छ । त्यसपछिको कालखण्डमा विदेशीहरूले यहाँका नेताहरूलाई पद र पैसाको लोभ देखाएर आफ्नो अनुकुलको परिस्थिती सृजना गर्न सफल भए । २०४६ सालपछि शासनमा पुगेका नेताहरूले पद र पैसाको लालचमा परेर मातृभूमिलाई बेइमानी गरे । आफ्नो अनुकुलताको वातावरण बनाउन, राजनैतिक परिवर्तन गराउन विदेशीहरूले यी नेताहरूलाई पिट्ठूको रुपमा प्रयोग गरे । यो अत्यन्त दुःखद थियो । यसको भोलि इतिहासले मूल्यांकन गर्ने छ ।

राष्ट्रवादीहरूको अवको चुनौति
हामी राष्ट्रवादी देशभक्तहरूको काँधमा ठुलो जिम्मेवारी आएको छ । मुलुकको राष्ट्रिय स्वाभिमानको रक्षा गर्न हामीले बलिदानी पूर्ण योगदान दिनुपर्ने छ । यो एउटा चुनौती मात्र नभएर मातृभूमिको सेवा गर्ने अवसर पनि हो । सम्पूर्ण राष्ट्रभक्त, देशभक्त, हामी सबै एक ठाउँमा गोलबन्द भएर हिन्दु राष्ट्र एवं संवैधानिक राजतन्त्रको पुनः स्थापना गर्न निर्णायक आन्दोलनको उद्घोष गर्नुपर्ने छ । त्यो तेस्रो जनआन्दोलन हुने छ । त्यसको लागि तयार हुन सम्पूर्ण देशभक्त नागरिकहरूमा अपिल गर्दछु । ०६३ सालमा कुनै क्रान्ति भएको थिएन । दोश्रो जनआन्दोलन सहमतिमा गएर टुङ्गिएको थियो । राजा संवैधानिक भएर बस्ने, राजनैतिक पार्टीहरूले शासन व्यवस्था सञ्चालन गर्ने सहमति भएको थियो । तर कार्यान्वयनको क्रममा नेताहरूले बेइमानी गरे । यो सरकारले त्यसलाई सच्याउन उपर्युक्त बाटो हुनेछ । कुनै कारणवश जसको इसारामा सो कार्य भयो त्यस्तो कुनै कारणले सच्याउन नसकिने स्थिति हो भने जनमत संग्रहको घोषणा गरियोस । हामी जन्मथ संग्रहमा सामना गर्न तयार छौ । हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र जस्तो महत्वपूर्ण विषयमा जनताको अभिमत लिनु उत्कुष्टं उपाय हुनेछ । ०६३ को त्रुटिलाई पनि नसच्याउने र जनमत संग्रहमा पनि नजाने हो भने हामीसँग सडक संघर्षमा जानुको विकल्प छैन । ०६५ साल जेष्ठ १५ गते गणतन्त्र घोषणा हुँदा मैले त्यसको विरोधमा जुलुस निकालेको थिए । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको संसद भवनमा गणतन्त्र घोषणा हुन गइरहेको थियो । टुडिखेलमा विजयउत्सव मनाउने तयारी हुंदै थियो । त्यतिबेला मैले न्यूरोडमा गणतन्त्रको विरुद्धमा जुलुस निकालेको थिए । न्युरोडबाट शुरु भएको जुलुस बसन्तपुर, ईन्द्रचोक हुँदै भूगोल पार्कमा सभामा मैले सहमतिलाई कायम गर बेईमानि गर्न पाईदैन । तपाईहरूले कुनै क्रान्ति गर्नु भएको
होईन । आन्दोलनबाट सहमतिमा गएर टुङ्गिएको हो । सहमति कायम नभएमा मुलुकले निकाश पाउने छैन भनेको थिए । बेईमानीको जगमा खडा भएको, गणतन्त्र हामीलाई स्वीकार्य छैन भनेको थिए । त्यो अहिले पनि कायम छ । बेईमानीको जगमा खडा भएको गणतन्त्र राष्ट्रवादी, देशभक्तहरूलाई स्वीकार्य छैन । यसले मुलुक र नेपाली जनताको भलो हुँदैन भन्ने कुरा छर्लङ्ग भएको । ०६३ सालदेखि हालसम्म बागमतिमा धेरै पानी बगिसकेका छ । तसर्थ समयमै सहि कदम नचलिएमा गणतन्त्रको पर्खाल ढल्ने छ । राष्ट्रवादीहरूले तेश्रो जनआन्दोलनको आव्हान गरेर आन्दोलनको आँधी बेहरीले फिरङ्गीहरूका टट्टुहरूलाई परास्त गर्नेछन् र संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र प्रजातन्त्रको पुनःस्थापना हुनेछ ।

सबैको चासोको विषय
मुलुकले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा खडा हुनु नितान्त आवश्यक छ । नेपाली जनताले पनि देशलाई माया गर्ने एउटा इमान्दार, भरोसायोग्य राष्ट्रवादी पार्टी खोजिरहेका छन् । तसर्थ समान धारणा राख्ने पार्टीहरू राप्रपा–लगायत सबै राष्ट्रवादी पार्टीहरूसंग पार्टी एकता गर्ने बेला आएको छ । सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकतावद्ध गरेर राष्ट्रवादी आन्दोलन गर्ने बेला आएको छ । त्यो तेस्रो जनआन्दोलन हुनेछ । र त्यो आन्दोलन हिन्दु राज्य र संवैधानिक राजतन्त्रका लागि निर्णायक लडाई हुनेछ । त्यो आन्दोलनको माध्यमबाट मुलुक फिरङ्गीहरूको कुनियत र फिरङ्गीहरूको दलालहरूबाट मुलुक मुक्त हुनेछ र एउटा स्वतन्त्र, सार्वभौम सम्पन्न राष्ट्र स्थापित हुनेछ ।
यस पटकको उपनिर्वाचन विदेशीहरूको ग्रयान्ड डिजाइन अनुरुप मञ्चन गरिएका कलाविहिन गाईजात्रे नाटक थियो । मैले यसलाई यहि रुपमा लिएको छु । तर हामी राष्ट्रवादीहरू एकतावद्ध रुपमा अघि बढ्दा आगामी निर्वाचनमा हाम्रो राम्रो स्थान रहने छ । जनताले हामीलाई माया गर्नेछन् ।
अहिले चर्चामा रहेको नेपालको सिमाना नक्साको बारेमा कालापानी, लिम्पुयाधुरा र लिपुलेकको आधिकारिक नक्सा नेपाल सरकारको तर्फबाट तुरुन्त सार्वजनिक गर्नु पर्दछ । त्यहाँ सिमाना मिचिएको छ, हामी एक इन्ची जमिन पनि छोड्न तयार छैनौ । हामीलाई हाम्रो माटोको माया छ । त्यसैले कुनै पनि मुल्य चुकाएर भए पनि हामी हाम्रो जमिन पूर्ववत रुपमा कायम गर्ने छौं ।
हाल हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा इमान्दारीसंग पहल गर्ने पार्टी नेपाली जनताले खोजिरहेका छन् । हामीले त्यसको लागि जनताको विश्वास जित्नु पर्दछ । जनताले यिनीहरू आफ्ना एजेण्डाप्रति इमान्दार हुन भन्ने लाग्यो भने राप्रपा संयुक्त ह्वातै माथि उठ्ने छ । नेपाली जनताहरू अहिले धेरै चेतनशिल भइसकेका छन् । चेतनाको स्तर माथि उठिसकेको छ । उनीहरूलाई विश्वास हुनु प¥यो कि हामी हाम्रो एजेण्डामा इमान्दार छौ, त्यो विश्वास जनतालाई भयो भने बल्ल जनताले मत दिने छन् । (लेखक गौचन पूर्व मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को उच्च स्तरीय कार्य सम्पादन समिति सदस्य हुनुहुन्छ ।)

LEAVE A REPLY