राप्रपा एकता र मुलुकको भविष्य

Royal Times
Read Time:15 Minute, 8 Second
– होमभक्त कुरुम्बाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता भएको छ । यस एकताले देशैं भरका नेता–कार्यकर्तालाई खुसी तुल्याएको छ । दुई राप्रपा एकता पछि एकिकृत पार्टीले गति लिने छ । आम नेता–कार्यकर्ताको राय, सुझाव र माग अनुसार पार्टी एकता भएको हो । एउटै सिद्धान्त र विचार भएका दुई पार्टी मिल्नु स्वभाविक छ । राप्रपाहरू नमिल्नुमा कुनै खास कारण थिएन । दुवै पार्टीको सिद्धान्त एउटै थियो, विचार एउटै थियो । बीचमा खेल्ने केही तत्वहरूले राप्रपा मिल्न दिएका थिएनन् । ढिलै भए पनि राप्रपाहरू एक भएका छन् । स्पष्ट रुपमा भन्नु पर्दा पार्टीको मूल सिद्धान्तबाट राप्रपाहरू विचलित भए, निर्वाचनकै बेला राप्रपा फुट्नु नै राप्रपाहरूको कम मत आउनु हो । यो कुरा पार्टी नेतृत्वले स्विकारेको अवस्था छ । निर्वाचनका बेला राप्रपाहरू फुटेर जाँदा राप्रपालाई मत दिने जनता राप्रपा वा राप्रपा (संयुक्त) कुन पार्टीलाई मत दिने भन्ने अन्यौलता उत्पन्न भयो । यदि राप्रपा र राप्रपा संयुक्त एकतावद्ध भएर जनता माझ गएको भए गत निर्वाचनमा नै आरामले राष्ट्रिय पार्टी बन्थ्यो । केही स्थानमा राम्रोसंग जित्थ्यो । तर विडम्बना राप्रपाहरू मिल्न ढिला भयो । तैपनि आगामी निर्वाचनसम्म राप्रपालाई मजबुत पार्नु पर्छ । जनताले वैकल्पिक शक्तिको आवश्यकता महसुस गरिरहेका छन् । अब एकिकृत राप्रपाले जनताको अवाश्यकता पुरा गर्न सक्छ । स्पष्ट भन्नु पर्दा राप्रपाको भविष्यसंग मुलुकको भविष्य गाँसिएको छ । नेकपा, काग्रेसको आफ्नै पुरातनवादी सिद्धान्त छ । तर राप्रपाको वैकल्पिक रुपमा जनचाहाना अनुसारको विचार र सिद्धान्त छ । अब राप्रपाहरू एक भएको अवस्थामा केन्द्रदेखि गाउँ–टोलसम्म राप्रपाको संगठन मजवुत पार्नु पर्छ । अहिले देखिनै जनतामा गएमा मात्र आगामी निर्वाचनमा राम्रो परिणाम आउने छ । आगामी निर्वाचनसम्म राप्रपाले हिजोका दिनमा ल्याएको स्थानलाई भविष्यसम्म बढाउदै लैजानु पर्छ । राप्रपाले कहिले २० सिट कहिले २५ सिट ल्याएर देशमा वैकल्पिक शक्तिको रुपमा उभ्याइ सकेको छ । कुनै बेला जताततै राप्रपा थियो । तर आपसमा फुटेर जाँदा जनताले विश्वास गर्न छोडे र मत पनि घट्दै गयो । ‘भाई फुटे गवार लुटे’ यो उखान गत निर्वाचनमा आएको परिणामसंग मिल्छ । अब देशैभर राप्रपा–राप्रपा बनाउन सबै तहका नेता कार्यकर्ताले जनतालाई विचार र सिद्धान्त बुझाउदै हिड्नु पर्छ । जनताले मन पराउने पार्टी राप्रपालाई बनाउनु पर्छ ।
राप्रपामा कमल थापा, पशुपती समशेर राणा र डा. प्रकाश चन्द्र लोहनी अध्यक्ष हुनु भएको छ । आगामी दिनमा राप्रपालाई फुट्न नदिन उहाँहरूबीच विश्वासयोग्य वातावरणको निर्माण गर्नु पर्छ । तिनै जना अध्यक्ष थापा, राणा, लोहनी अनुभवी राजनीतिज्ञ हुनु हुन्छ । उहाँहरूकै सफल नेतृत्वबाट राप्रपाको भविष्य सुरक्षित छ । अब राप्रपाले मुलुकमा वैकल्पिक शक्तिको रुपमा आफुलाई उभ्याउने छ । यो एकताले दीर्घकालीन महत्व राख्ने छ ।
पार्टी एकता हुनु दुवै पार्टीका नेता तथा कार्यकर्तालाई अत्यन्त आवश्यक थियो । पार्टी एकता नहुँदा जनतासंग हाम्रो विश्वास गुमाउदै गएका थियौ । भोली आउने समयमा जनतामाझ जाँदा हामीलाई हरेक किसिमको सहयोग हुनेछ । र आगामी चुनावमा हामी निर्णायक शक्ति हुनेछौ ।
यो सबैले थाहा पाएकै कुरा हो । कम्युनिष्टहरूको वहुमतको सरकार भए पनि मुलुक अस्तव्यस्त छ । जनताले जुन किसिमको अपेक्षा गरेका थिए, त्यो अपेक्षा अनुरुप सरकारले जनतालाई राहात दिन सकेन । शान्ति सुरक्षाको विषय हेरौं, कालाबाजारिया हेरौ, महँगी हेरौ, विकासको सम्बन्धमा बाटोघाटो हेरौं । चारैतिर अस्तव्यस्त छ । त्यसैले यो सरकार असफल मान्न सकिन्छ । यो सरकारलाई घच्घचाउने कुनै दल निस्केनन् । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस पनि यो सरकारको विरोध गर्नुको साटो भ्रष्टाचार अनियमितता गर्न मौका दिइरहेको छ । काग्रेसले सरकारले गरेका कामको पक्ष पोषण गरिरहेको भन्दा हुन्छ । त्यसो त काग्रेस आफै आन्तरिक घर झगडामा अल्झिरहे झै देखिन्छ र सरकारका राम्रा वा नराम्रो कामको मूल्याङ्कन गर्दै अघि बढ्नु पर्ने प्रमुख प्रतिपक्ष काग्रेस चुपचाप रहनाले ओली सरकारलाई मन लागि अघि बढ्न मौका मिलेको देखिन्छ । त्यसो त न हामीले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, महगीको जोडदार रुपमा आवाज उठाइरहेका छौं । यस विषयलाई हाम्रो पार्टीको नेतृत्वबाट पनि जोडदार रुपमा आवाज उठाइरहनु भएको छ । अब महंगी, भ्रष्टाचार, अनियमितताका विरुद्ध हामी तिव्र रुपमा अघि बढ्ने छौ ।
सर्वहारा वर्गको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्शा भएको केक काटे । त्यो आधुनिक नयाँ सामन्ती प्रथाको रुपमा भन्दा हुन्छ ।

विगतमा देश परिवर्तनको नाममा नेपाली जनताको जिउधनको सुरक्षा थिएन । अनाहकमा सत्र हजारको ज्यान गयो भने अहिले वर्तमान सरकारले समृद्धिको नाममा राष्ट्रिय स्वाधिनता माथि खेलवाड भएको देखिन्छ । यसको अर्थ देशको भविष्य माथि चोट पुगिरहेको छ ।
यता मुलुकमा चर्चाको विषय बनेको अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारेमा सहमति गर्नु भन्दा पहिला सरकारले यस विषयमा गम्भीर रुपले छलफल गर्नु पर्छ । र देश र जनताका लागि एमसिसी आवश्यक छ, छैन भनि अन्तिम निर्णय गर्नु भन्दा पहिला जनतामाझ लैजानु पर्छ । एमसिसी नेपालमा भित्र्याउन खोज्नुमा उनीहरूकै भित्री स्वार्थ रहेको हुन सक्ने देखिन्छ । एमसिसीको केही बुधामा नेपाललाई भविष्यमा अप्ठ्यारो पर्ने खालका कुराहरू रहेको भन्ने विज्ञहरूबाट सूनिन्छ । त्यसैले त्यसले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउन सक्ने भएकोले पहिला एमसिसी संसदबाट पारित गर्नु भन्दा पहिला जनता माझ लानु पर्ने कुरामा जोड दिन चाहान्छु । त्यसो त एमसिसीलाई संसदबाट पारित गर्न नेकपादेखि काग्रेससम्म हतारिएका छन् । केही एमसिसी पारित गर्न लाएक छ वा यसलाई फिर्ता गर्नु पर्छ यो विषय जनतामा लैजानु पर्छ र एमसिसीलाई सदनमा प्रवेश गर्नु अघि जनतालाई देखाउनु पर्छ । होइन भने जनतालाई झुक्याएर यो पारित गर्न दिन हुन्न । जनता देशको मालिक भएकाले जनतालाई नदेखाइ एमसिसी कदाचित पारित हुन दिन हुन्न ।
यसै बीच तत्कालीन संचार मन्त्रि गोकल वास्कोटाले ७० करोड घुस लिन खोजेको जुन अडियो सार्वजनिक रुपमा सुन्नमा आयो, यो अत्यन्त निन्दनीय र गम्भीर छ । प्रधानमन्त्री केपी ओलीले विश्वास गरेको मन्त्रिबाट यत्रो भ्रष्टाचार हुन खोज्नुलाई सानो रुपमा लिनु हुन्न । यस विषयमा राज्य सम्यन्त्रहरूले कानूनी रुपमा छानविन गर्नुपर्छ । स्पष्ट रुपमा भन्दा प्रधानमन्त्रीले ओलीले भ्रष्टाचार गर्दिन भने पनि राज्यका विभिन्न निकायमा व्यापक रुपमा भ्रष्टाचार अनियमितता भएको देखिन्छ । त्यसो त वर्तमान राज्य सत्तालाई जनहीतका लागि कार्य गर्न मौका छ । भ्रष्टाचारीहरूलाई कारवाही गर्नु प¥यो । वाइडवदी, सुनकाण्ड, यति, एनसेललाई कानूनी दायरामा ल्याउन सरकारले सकेमा जनताको सरकारप्रति विश्वास गर्ने वतावरण बन्ला । ओलीले भने अनुसार गर्ने हो भने ठूला भ्रष्टाचारीलाई कारवाही गरेर जनतालाई देखाउन सक्नु पर्छ ।
हुन त वर्तमान सरकार जनताको अभिमत अनुसार चलेको देखिदैन । नेकपाकै घोषणापत्र अनुसार सरकार चलेको देखिदैन । काम गरेको पाइदैन । कसरी हुन्छ सत्तामा टिक्ने, आफ्नो मान्छेलाई पक्ष पोषण गर्ने, भ्रष्टाचारमा लिप्त हुने मात्र सरकारको नेतृत्वकर्ताबाट भएको देखिन्छ ।
यति बेला अर्को चर्चामा रहेको कालापानी, लुपुलेक र लिम्पुयाधुरा रहेको छ । कालापानी, लिपुलेक र लिम्पुयाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेको छ । वर्तमान सरकारले यस विषयलाई गम्भीर चासोको रुपमा लिनु पर्ने हो तर त्यो देखिदैन । राष्ट्र, राष्ट्रियता र स्वाधिनता माथि नै ठूलो आँच आएको हामीलाई महसुस भएको छ । हाम्रो सिङ्गो पार्टीले यसलाई चासो दिएको छ । पार्टी नेतृत्वबाट आवाज उठाउने काम भइरहेको छ । कालापानी, लिपुलेक र लिम्पुयाधुरालाई नेपाल र भारतबीच वार्ताको माध्यमबाट समाधान निकाल्नु पर्छ । यो विषयमा पनि वर्तमान सरकार गम्भीर नभएको देखिन्छ ।
स्पष्ट रुपमा भन्नु पर्दा नेपाली जनताले विकास र परिवर्तन चाहिरहेका छन् । झण्डै दुई तिहाई ल्याएको सरकारले विकास र परिवर्तनको बाटो नहिडेर महँगी, वेरोजगारी, भ्रष्टाचार अनियमितता अशान्तिलाई प्रसय दिंदै गएकाले अब आम जनताले हामीलाई अघि बढ भनेर घच्घयाई रहेको अवस्था छ । आफ्नै मौलिकतालाई निरन्तरता होस भनेर जनताले चाहेका छन् । अब राप्रपाले मात्र नयाँ शक्तिको निरन्तरता दिन सक्छ । राप्रपा प्रजातान्त्रिक र उदारवादी पार्टी हो । यसमा नै सम्पूर्ण जनताको भविष्य छ । राप्रपालाई जनताले सत्तामा पून्याए भने तीन वर्षमा देशको कायापलट गर्ने छ । त्यसैले आगामी निर्वाचनसम्म राप्रपाले जनताको विश्वास जित्ने कामहरू गर्नु पर्छ । हिजोका दिनमा २० सिट र २५ सिट ल्याउदा राप्रपाका नेता कार्यकतालाई कति उत्साहित थिए । जनताको विश्वासले नै राप्रपाले त्यो उपलब्धी हासिल गरेको थियो । अब मुलुकभर व्याप्त भ्रष्टाचार अनिमितता मँहगीका विरुद्ध राप्रपाले जोडदार रुपमा आवाज उठाउनु पर्छ । कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई आफ्नै मुलुकमा कायम राख्न राप्रपाले परिआए आन्दोलन गर्नु प¥यो । अनि मात्र आम जनताले राप्रपालाई राष्ट्रवादी शक्तिका रुपमा विश्वास गर्ने छन् । मूल राष्ट्रवादी शक्तिका रुपमा राप्रपालाई उभ्याउने हो भने राप्रपाले हरेक किसिमको राष्ट्रवादी क्रियाकलाप गरेर जनतालाई देखाउनु प¥यो । देशको रोगको रुपमा रहेको भ्रष्टाचार विरुद्ध अघि बढ्न राप्रपाले ढिलाई गर्नु हुन्न । नेता–कार्यकर्तादेखि आम जनताले राप्रपाहरू एकतावद्ध होस भन्ने चाहेका थिए, त्यो पुरा भएको छ, अब निडर भएर जनतामा जाने समय आएको छ । र, आगामी निर्वाचनसम्ममा राप्रपालाई निर्णायक शक्ति हुने स्थिति निर्माण गर्नुपर्छ ।
– (लेखक होम भक्त कुरुम्बाङ राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य हुनुहुन्छ ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Yuval Noah Harari’s History of Everyone, Ever

In 2008, Yuval Noah Harari, a young historian at the Hebrew University of Jerusalem, began to write a book derived from an undergraduate world-history class that he was teaching. Twenty lectures became twenty chapters. Harari, who had previously written about aspects of medieval and early-modern warfare—but whose intellectual appetite, since […]