जयन्ती बिजले, जो किसानका लागि सिंगो संस्था हुन्

Royal Times
Read Time:7 Minute, 39 Second

जयन्ती खेतीपाती गर्दै पढ्दै पनि छिन्। उनको स्नातक तहको पढाइ जारी छ। बारीमा आलु, बन्दा, मुला, काउली, खुर्सानी फलेका छन्। परिवारको छाती गर्वले फुलेको छ।


अझै पनि अधिकांश महिलाको दिन चुलोचौको र खेतबारीमै बित्छ। जयन्ती बिजलेको पनि खेतबारीमै हो समय बित्ने। बैतडीको पाटन नगरपालिका–९, खालीडाँडाकी २३ वर्षे चेली खेतबारीको कामले हातमुख मात्रै जोर्दिनन्, मनग्गे आम्दानी पनि गर्छिन्।

जयन्ती खेतीपातीबाटै वर्षमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छिन्। त्यो स्कुल जाने उमेरै थियो, जति बेला उनी डोली चढेर पराईघर गएकी थिइन्। उनका ससुरा हरिसिंह बिजले उनताकै खेतीपातीमा तल्लीन थिए र त्यसैबाट परिवारको गर्जाे टथ्र्याे। यता घरमा नयाँ सदस्य भित्रनु र खेतीपातीमा व्यावसायिकपन सुरु हुनु सँगै भयो। जयन्तीले परिवारको खेतीपाती व्यावसायिक बनाउन मेहनत सुरु गरिन्। स्कुल टुटाइनन्, हातमा कलम कपी छुटाइनन्, कुटोकोदालो पनि छोडिनन्।

उमेर १६ वर्ष थियो, पढाइ चल्दाचल्दै बिहेको कुरो चल्यो। दुईतिरका परिवार राजी भएपछि बिहे पनि भयो। जयन्तीलाई भने पढाइको चिन्ता थियो। अर्काे घरमा गएपछि पढ्ने कि बुहार्तन सहने ? एक किसिमको भयमै थिइन् उनी। तर मनले चिताएजस्तै भयो, पढाइ नछाड्ने चाहनामा घरपरिवारले बाधा हालेन, बरु प्रेरित गर्‍यो। उनी पनि बिहानबेलुकी घरको काममा व्यस्त भइन्, दिउँसो पढ्न गइन्। उनी पनि खुसी, परिवार पनि खुसी।

सुरुमा मासिक २०÷२२ हजारको हाराहारीमात्रै बिजले परिवारको कमाइ थियो। व्यावसायिक रूप दिएपछि वार्षिक १० लाख रुपैयाँ कमाइ हुन थाल्यो। बारी र परिवारको जीवन दुवै हराभरा हुन थाल्यो। जयन्ती गर्वका साथ भन्छिन्, ‘तरकारी खेती गरेरै धनगढीमा दुई कट्ठा घडेरी किनेका छौं।’ छोराछोरीलाई उतै धनगढीमा राखेर पढाइरहेकी छन्। बिजले परिवार २० रोपनीमा तरकारी खेती गर्छ।

त्यो त्यस्तो जमिन हो, जहाँ पहिलाको उब्जनीले ६ महिना पनि परिवारको गर्जाे टार्न धौधौ थियो। पहिले त्यही बारीमा परिवारले गहुँ र मकै लगाउँथ्यो। जयन्तीका श्रीमान् मोहन रोजगारीकै लागि बिदेसिएका थिए। अहिले उनले यतै डाकिन्। हरिसिंह छोराबुहारी मिलेर खेतीपातीमा लागेको देख्दा हर्षित छन्। जयन्ती भन्छिन्, ‘ श्रीमान् कोरिया हुनुहुन्थ्यो, आफ्नै माटोमा सुन फल्छ आउनोस् भनेर बोलाएँ, आउनुभयो।’

जयन्ती खेतीपाती गर्दै पढ्दै पनि छिन्। उनको स्नातक तहको पढाइ जारी छ। बारीमा आलु, बन्दा, मुला, काउली, खुर्सानी फलेका छन्। परिवारको छाती गर्वले फुलेको छ। बारीको काम जयन्ती आफैं गर्छिन्। बजारसम्म पुर्‍याउन पनि उनी आफैं जान्छिन्। हिसाबकिताब सबै राख्छिन्।

व्यावसायिक खेतीपाती गर्न जयन्ती थुप्रै तालिम पनि लिइन्। त्यसबाट उत्पादन बढाउने तरिका जानिन् पनि। भन्छिन्, ‘तरकारीको बेर्ना बनाउन, गोडमेल गर्न, जैविक विषादी बनाउन जानेँ।’ प्याजको बेर्ना मात्रै बेचेर पोहोर साल उनले पाँच लाख रुपैयाँ भिœयाएकी थिइन्। भन्छिन्, ‘अर्काे वर्ष अझै कमाउने हो, आधुनिक कृषि प्रणालीमा जाने विचार छ।’

अहिले त गाउँमा महिला कृषक समूह नै गठन भएको छ। धेरैजसो महिला समूहमा सहभागी छन्। तरकारी खेतीमा लागेकी बिजले अहिले जिल्लास्तरीय मकै जोन कार्यान्वयन समितिकी उपाध्यक्षसमेत भएकी छन्। भन्छिन्, ‘पहिलापहिला महिलालाई यस्ता समितिहरूमा राख्ने चलन नै थिएन। अहिले तरकारी खेतीमा लागेकै कारण विभिन्न ठाउँमा जान पाएँ। तरकारी खेतीले मलाई नाम र दाम दुवै दिएको छ।’

घरपरिवारको साथ छँदै थियो, सरकारले पनि उनलाई उत्कृष्ट किसान भनेर क्षेत्रीय स्तरको पुरस्कार दिइसकेको छ। त्यसपछि झन् पूरै परिवार हर्षित छ।

जयन्ती बिजलेको परिवारले थालनी गरेको व्यावसायिक तरकारी खेतीको सिको गर्दै अहिले किचारका ३५ परिवारले तरकारी खेती गर्न थालेका छन्। गाउँमा कैलपाल महिला किसान समूह गठन गरेर आफूहरू तरकारी खेतीमा लागेको किचारकी दुरा भण्डारीले बताइन्। भन्छिन्, ‘जयन्तीको तरकारी व्यवसायबाट हामीहरूले पनि धेरै कुरा सिकेका छौं। अहिले गाउँका प्रायः तरकारी खेतीमा आबद्ध छौं।’

व्यावसायिक तरकारी खेतीलाई अघि बढाउन समूहमा छलफलसमेत हुने गरेको समूहकी कोषाध्यक्ष जयन्ती बिजले बताउँछिन्। उनले भनिन्, ‘हामी हाम्रो कृषक समूहमा नयाँ प्रविधि, अनुदान, तालिमका कुरा र बजारीकरणका कुरा गर्छौं। यसले हाम्रो क्षमतासमेत अभिवृद्धि भएको छ।’

पछिल्लो समय तरकारी खेतीमा महिला आकर्षण बढ्दै गएको छ। जयन्ती बिजले जस्ता नमुना महिला किसान अहिले गाउँगाउँमा उदाइरहेको मकै जोन कार्यालयका जेटीए महेश अवस्थी सुनाउँछन्। उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा पहिलेको तुलनामा कृषि पेसाबाट महिलाको दैनिकी फेरिएको छ। सधैंभरि घरको चुलोचौकोमा सीमित महिला अब आर्थिक तथा सामाजिक क्रियाकलापमा सरिक भएका छन्।’

जिल्लाभरका २०७ कृषि समूहमध्ये ५३ वटा महिला किसान समूह रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्द बताउँछन्। उनले भने, ‘सुरुमा महिला किसान समूह नै थिएनन्। चारपाँच वर्षयता महिलाको व्यावसायिक तरकारी खेतीमा आकर्षण बढेको छ। यसले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ।’ कृषिबाट साँच्चै जयन्ती बिजलेको जीवन समृद्ध भएको छ। थुप्रै महिलाले कृषिबाटै जीवन सपारेका छन्। – भगीरथ अवस्थी /अन्नपूर्ण

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँपालिकाको नमूना काम, आफैँ व्यावसायिक कृषि फार्म सञ्चालन

प्यूठान,  झिमरुक गाउँपालिकाले आफैँ कृषि फार्म सञ्चालनमा ल्याएको छ । गाउँपालिका नजिकै पालिकाले आफैँ व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका कृषकलाई व्यवासायिक कृषि ज्ञान सिकाउने तथा कृषि क्षेत्रमा उत्पेरित गर्ने उदेश्यले फाम सञ्चालनमा ल्याइएको कृषि तालिम स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य सहित कृषि फार्मको योजना अघि बढेको गाउँपालिका […]