कृषिको आधुनिकीकरणमा लागेका परिवार

Royal Times
Read Time:14 Minute, 17 Second

कृषिमा प्रतिफल न्यून छ भन्नेका लागि च्याउ खेती र बीउ उत्पादनमा क्रान्ति ल्याएका यी तीन भाइ गतिलो जवाफ बनेका छन्।


कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणमार्फत प्रतिफल वृद्धि गर्ने सरकारको घोषित नीति छ। प्रतिफल सुनिश्चित गर्न सोहीअनुसार कृषि अनुसन्धान, प्रविधि, मल, बीउबीजन, सिंचाइ, कृषि प्रसार सेवा, बिमा, सहुलियत ऋणलगायत दर्जनौं आवश्यकता छन्। जोखिम धेरै, प्रतिफल न्यून भएकाले कृषिमा संलग्न हुने जनसंख्या घट्दो छ। अझ युवा पुस्ताको यसमा कम रुचि छ।

तर, मोरङ बूढीगंगा गाउँपालिका–७, वरवनियाँका २८ वर्षीय सरोज, २६ वर्षीय सुरज र २३ वर्षीय जीवन नेपाल भने यसको अपवाद बनेका छन्। कृषिमा उनीहरूले चालेको कदम र थालेको पहलले अहिले एउटा लय समातेको छ।

अन्य युवाजस्तै सरोजले पनि देशमा भविष्य नदेखेर वैदेशिक रोजगारीको बाटो नसमातेका हैनन्। ६ वर्षअघि बहुसंख्यक नेपाली काम गरिरहेको मध्यपूर्वको सहर दुबई पुगे। दुबईमा १४ महिना बिताइसक्दा यता भाइहरू सुरज र जीवन नेपालले च्याउ खेती थालिसकेका थिए। अत्याधुनिक प्रविधि प्रयोग गरेर थालिएको च्याउको बीउ उत्पादन राम्रो हुँदै गएको खबर पाएपछि सरोज पनि वैदेशिक रोजगारी छाडेर नेपाल आए।

उनी विदेशमा हुँदै भाइहरूले बाटो समातिसकेका थिए। नेपाल फर्किएर सरोजले यसलाई आधुनिकीकरणतर्फ लग्दै अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिए। उत्पादित च्याउको बीउले नाम मात्रै हैन, तीन दाजुभाइलाई दाम पनि राम्रै दिइरहेको छ।

एसएलसी सकेर काठमाडौं पढ्न बसेका सरोजका कान्छा भाइ जीवनले त्यहीँ व्यावसायिक च्याउ खेती र त्यसको बीउ उत्पादनबारे जानकारी बटुले र कर्मथलो पुगे। पहिले भारतबाट बीउ ल्याएर त्यसकै नक्कल गर्दै बीउ बनाउन सिकेको जीवनको भनाइ छ। भारतीय बीउको नक्कल गर्दै लोटेक पद्धतिबाट उत्पादन गर्न सिकेका जीवन अहिले लिक्विड पद्धतिबाट च्याउको बीउ उत्पादन गर्न पोख्त बनिसकेका छन्। अहिले तीनै दाजुभाइ आधुनिक प्रविधि प्रयोग गरी लिक्विड प्रद्धतिमार्फत च्याउको बीउ उत्पादन गर्ने सफल कृषक र उद्यमीका रूपमा परिचित छन्। 

के हो लिक्विड पद्धति ?

उत्पादनमा लोटेक प्रविधिलाई आत्मसात् गर्दा चाँडै बिग्रने सम्भावना र लगानी डुब्ने डर हुने गरेका कारण लिक्विड पद्धति अँगाल्नु परेको सुरजको भनाइ छ। बीउबाट बीउ हस्तान्तरण गरेर उत्पादन गरिने लोटेक पद्धतिका कारण ब्याक्टेरियाको संक्रमण चाँडै भएर सड्ने र खेर जाने जोखिमका कारण उनीहरूले लिक्विड पद्धति अपनाएका हुन्।

सुरजका अनुसार अहिले अवलम्बन गरिएको लिक्विड पद्धतिबाट हुने उत्पादन शतप्रतिशत सफल भइरहेको छ। ‘यो पद्धतिअनुसार सुरुमा लगभग ४५ मिनेट जति गहुँ उसिन्ने (बोयल गर्ने) र पानी डेढ घण्टाजति सुकाएर उसिनेको गहुँलाई ओभानो बनाइन्छ’, उनले भने, ‘दुई सय ग्रामका पोका बनाएर केमिकल मिसाउँदै पोकालाई तीन घण्टा अटोक्लेपमा स्टिम गर्नुपर्छ।’ त्यसपछि कल्चर रुम (ढुसी सार्ने ठाउँ)मा लगेर राख्ने र भोलिपल्ट कल्चर ट्रान्सफर गरिसकेपछि स्टोर रुममा राखेको १० देखि १५ दिनभित्र च्याउको बीउ तयार भएर रोप्नयोग्य हुन्छ।

बीउ रोपेको एक महिनादेखि उत्पादन दिने र त्यसले निरन्तर तीन महिनासम्म उत्पादन दिइरहने उनको भनाइ छ। बीउ उत्पादनलाई मौसमले असर गर्छ। ‘गर्मीमा थोरै र जाडो मौसममा धेरै बीउ उत्पादन गरिन्छ। बीउको माग पनि त्यहीअनुसार आउँछ’, उनले भने, ‘गर्मीमा दैनिक दुई लाख ४० हजार ग्राम र चिसो मौसममा दोब्बर बीउ उत्पादन गर्ने गरेका छौं। च्याउ खेतीका लागि जाडो मुख्य सिजन हो।’ दुई लाख ४० हजार ग्राम बीउ उत्पादन गर्न चार मन (प्रतिमन ४० किलो) गहुँ आवश्यक पर्ने जानकारी उनले दिए।

६ वर्षदेखि निरन्तर च्याउ खेती र बीउ उत्पादनमा समय दिइरहेका नेपाल दाजुभाइले सुरुमा ६ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका हुन्। अहिले उनीहरूले उत्पादन गरेको च्याउको बीउ नेपालका मुख्य सहरहरूमा पुग्छ। सबैभन्दा बढी काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जान्छ। त्यसपछि बीउको मुख्य बजार मोरङ, सुनसरी, सिरहा, सप्तरी र पहाडी जिल्लाहरू रहेको सुरजको भनाइ छ।

बीउ रोपेर च्याउ फलाउने तरिकाका बारेमा बेलीविस्तार लगाउँदै उनले भने, ‘काटेर बोरामा हालेको पराल सफा पानीले पखालेर तीन घण्टा ड्रममा स्टिम गर्नुपर्छ। त्यही स्टिम गरिएको पराल अँध्यारो कोठामा राखेर भोलिपल्ट बीउ राख्नुपर्छ।’ दुई सय ग्राम बीउले तीनदेखि ६ किलोसम्म च्याउ उत्पादन हुने उनले सुनाए।

नेपाल दाजुभाइले दुई सय ग्राम च्याउको बीउलाई ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। ‘चिसो मौसम हुने भएकाले पहाडमा दुई सय ग्राम बीउले ६ किलोसम्म उत्पादन दिन्छ’, सुरज भन्छन्, ‘तराईमा गर्मी बढी हुने भएकाले यति नै बीउले तीन किलोसम्म उत्पादन दिने गरेको छ।’

बीउ उत्पादन

वैज्ञानिक तवरले च्याउको बीउ उत्पादनमा सफल भएपछि सरोज, सुरज र जीवन मोरङकै सुन्दरहरैंचा नगरपालिका–४, दुलारीमा पनि च्याउको बीउ उत्पादनमा व्यस्त छन्। उनीहरूले च्याउको बीउ उत्पादन र बिक्रीवितरणको काम पनि दुलारीबाटै गर्दै आएका छन्। अहिले पूर्वी नेपालमात्र होइन देशका धेरै ठाउँमा नेपाल ब्रदर्स मसरुम एन्ड एग्रो रिसर्च प्रा.लि. नामक यी तीन दाजुभाइले स्थापना गरेको कम्पनीको नामबाट च्याउको बीउ बिक्रीवितरण हुन्छ। वास्तवमा, उनीहरूको फर्म अवलोकन गर्दा च्याउ खेतीमा उनीहरूले ठूलै रूपान्तरण ल्याएको आभाष गर्न सकिन्छ।

सरोज गाउँमै बुवा सन्तोष र आमा लीला नेपाललाई च्याउ खेतीमा पनि सहयोग गर्छन्। उनीहरू उत्पादन गरेको च्याउ प्रतिकिलो १ सय ५० रुपैयाँ थोकमा बिक्री गर्छन्। सुरजका अनुसार बीउ उत्पादनमा मासिक नौ लाख रुपैयाँ खर्च हुन्छ। सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म नाफा हुने गरेको उनले सुनाए। च्याउ खेतीबाट नेपाल परिवारले वर्षमा औसत १० लाख रुपैयाँ नाफा लिइरहेको छ। ‘यसको खेतीमा १० लाख खर्च हुन्छ’, सुरजले भने, ‘खर्च कटाएर त्यति नै नाफा आर्जन गर्छौं।’ च्याउको बीउ उत्पादन गर्ने आफ्नो उद्योग प्रदेश १ कै पहिलो भएको जानकारी उनले दिए।

सुरुमा नेपाल दाजुभाइले वरवनियाँमै व्यावसायिक च्याउ खेती गरेर बिक्रीवितरण गर्दै आएका थिए। सबै खर्च कटाएर लोभलाग्दो आम्दानी हुने भएकाले अहिले तीनै दाजुभाइले यही व्यवसायलाई निरन्तरता दिइरहेका छन्। उनीहरूले कृषिकर्ममा गरेको मेहनतबाट सबैलाई चकित मात्रै पारेका छैनन्, अरूका लागि प्रेरणास्रोत पनि बनेका छन्। ‘च्याउ खेती त नेपालमा धेरै अघिदेखि हुन्थ्यो’, सुरजले भने, ‘तर हामीले नेपालभित्रै च्याउको बीउ उत्पादन सुरु गरेर कृषकलाई सस्तोमा उपलब्ध गराइरहेका छौं।’ यसअघि पूर्वी नेपालमा भारतबाट च्याउको बीउ आयात गरिन्थ्यो।

भ्याइनभ्याइ

उद्योगमा कामदारलाई भ्याइनभ्याइ छ। महेन्द्र फुयाँल र लेखनाथ बाँस्कोटा स्थापना कालदेखि नेपाल दाजुभाइको फर्ममा साथै काम गरिरहेका छन्। उनीहरू च्याउको बीउ उत्पादन गर्ने उद्योगको भविष्य राम्रो भएको र यसले युवालाई सफल कृषकसँगै उद्यमी बन्न प्रेरित गरिरहेको तर्क राख्छन्। ‘हामी लामै समयदेखि नेपाल दाजुभाइको सहयात्री भएर रहेका छौंं’, फुयाँल र बाँस्कोटा एकअर्कालाई सही थाप्दै भन्छन्, ‘कृषि पेसामा नेपालमा जोखिम धेरै, प्रतिफल कम छ भन्नेलाई मेहनत गरे केहीमा पनि गाह्रो छैन भन्ने उदाहरण प्रस्तुत गर्न सकेकोमा खुसी लागेको छ।’ कृषिमा प्रतिफल न्यून छ भन्नेका लागि यी तीन भाइ गतिलो उदाहरण बनेका छन्।

च्याउको बीउ उत्पादन सुरु गर्नुअघि उनीहरूले जिल्ला कृषि कार्यालय र क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, मोरङको प्राविधिक सहयोगका लागि पहल गरेका हुन्। ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट पनि प्राविधिक सल्लाह÷सुझाव माग्यौं’, सरोज भन्छन्, ‘उहाँहरूसँग आधुनिक प्रविधि र ज्ञान रहेनछ। त्यसपछि हामी आफैंले इन्टरनेटबाट खोजेर पढ्ने र यस सम्बन्धमा जानकारी भएका स्वदेश विदेशमा रहेका व्यक्तिहरू पहिचान गरी सम्पर्क गर्न थाल्यौं।’ उनले भारतमा पुगेर बीउ उत्पादनको तालिम पनि लिएको र बीउ उत्पादनमा इन्टरनेट सबैभन्दा बढी सहयोगी बनेको बताए।

तालिमबाट सिकेको सीप र इन्टरनेटबाट प्राप्त जानकारीका आधारमा सुरुमा परीक्षण उत्पादन थालेको सरोजको भनाइ छ। ‘यसरी प्रयास गर्दै जाँदा सफल भयौं र अहिले व्यावसायिक बीउ उत्पादन गरिरहेका छौं’, उनले भने, ‘धेरैतिरबाट बीउको माग अत्यधिक मात्रामा भइरहेको हुन्छ।’ आफूहरूको च्याउको बीउ उत्पादन गर्ने विधि विश्वव्यापी रूपमा नै प्रमाणित रहेको तीन भाइको दाबी छ। विश्वका जुनसुकै ठाउँमा पनि च्याउको बीउ उत्पादन गर्न सक्ने उनीहरू बताउँछन्। देशभर च्याउको बीउ आयातलाई प्रतिस्थापन नै गर्ने गरी उत्पादन बढाउँदै लैजाने सरोजको भनाइ छ।

च्याउको बीउ उत्पादनका अतिरिक्त उनीहरूले दक्ष प्रशिक्षकहरूको माध्यमबाट च्याउ खेतीसम्बन्धी तालिम पनि दिँदै आएका छन्। उनीहरूले अहिले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। च्याउको बीउको माग पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। उत्पादन बढाएर देशभरि बीउ आपूर्ति गर्ने सोंचले उनीहरूले अहिलेको संरचनालाई विस्तार गर्ने योजना बनाएका छन्। यससँगै च्याउको बीउ उत्पादनमा अझै विशेषज्ञता हासिल गर्ने, बीउ उत्पादनका नयाँ–नयाँ विधिहरूको खोजी गरिरहेको सरोजले बताए।

च्याउको बीउ आयातमा मात्रै मुलुकबाट २० करोड रुपैयाँ बाहिरिने गरेको तथ्यांक छ। यसमा मात्रै पनि आत्मनिर्भर हुन सकियो भने यसरी आयातका लागि बाहिरिने विदेशी मुद्रा बचत गर्न सकिने सरोकारवाला बताउँछन्। – पुष्पराज आचार्य/किशोर बुढाथोकी -अन्नपूर्ण

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ वर्षको उमेरमा ज्यामिरलाई जुनार बनाएको थिएँ : जुनारका पिता, श्रेष्ठ

लठ्ठीकै सहारामा भए पनि जुनारको विस्तारमा श्रेष्ठको सक्रियता उस्तै छ। उनको बगैंचामा अहिले पनि पाँच सयभन्दा बढी जुनारका बोट छन्। उनले यसै वर्ष ४८ रोपनी जमिनमा थप पाँच हजार बिरुवा विस्तारका लागि काम गरिरहेका छन्। भनिन्छ, केही गर्नु छ त सुरु आफैंबाट गर्नुपर्छ। यसलाई सुहाउँदा पात्र हुन्, विष्णु श्रेष्ठ (७१)। […]