१२ वर्षको उमेरमा ज्यामिरलाई जुनार बनाएको थिएँ : जुनारका पिता, श्रेष्ठ

Royal Times
Read Time:13 Minute, 43 Second

लठ्ठीकै सहारामा भए पनि जुनारको विस्तारमा श्रेष्ठको सक्रियता उस्तै छ। उनको बगैंचामा अहिले पनि पाँच सयभन्दा बढी जुनारका बोट छन्। उनले यसै वर्ष ४८ रोपनी जमिनमा थप पाँच हजार बिरुवा विस्तारका लागि काम गरिरहेका छन्।


भनिन्छ, केही गर्नु छ त सुरु आफैंबाट गर्नुपर्छ। यसलाई सुहाउँदा पात्र हुन्, विष्णु श्रेष्ठ (७१)। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ विजयछापका श्रेष्ठलाई नेपाली कृषक र मित्रराष्ट्र जापानले समेत जुनार पिताका रूपमा उपमा दिएको छ।

भौगोलिक रूपमा विकट, ज्ञान र प्रविधिको अभाव हुँदाहुँदै श्रेष्ठले १२ वर्षको उमेर सिट्रस (अमिलो जात) को ज्यामिरबाट जुनार (गुलियो जात) को विकास गरे। बुवा मानबहादुर श्रेष्ठले पाखामा लगाएका दुईवटा ज्यामिरका बोटमा पहिलो पटक चार वटा दाना फलेपछि त्यसलाई (पहिलो पटक फलेको फल) भगवान्लाई चढाउनुपर्छ, दोस्रो पटक धेरै फल्छ र खानुपर्छ भनेपछि विष्णु श्रेष्ठलाई उक्त फलबारे बुझ्न मन लाग्यो।

त्यसपछि उनले ज्यामिर फललाई विस्तार गर्ने र अमिलोबाट गुलियो फल बनाउने उपायतर्फ सोच्न थाले। फलस्वरूप २०१८ सालमा विष्णुले ज्यामिरमा कलमी गर्दै त्यसको साइनलाई ग्राफ्टिङ गरे। पुनः बारीमा रोपे, पछि त्यसको फल गुलियो हुँदै गयो। पछि उनले हरेक वर्ष ग्राफ्टिङ गरिएको जुनारको फलको बियाँ छोडाएर बिरुवा उत्पादन गर्न थाले। करिब १० वर्षसम्म श्रेष्ठले आफ्नो बारीमा साढे तीन सय जुनारका बोट लगाएर फल फलाइसकेका थिए।

मेहनती एवं पौरखी श्रेष्ठ त्यति बेलासम्म धनुषाको महेन्द्रनगरस्थित नक्टाजिजमा जापान सरकारले कृषि तथा फलफूल उत्पादन र भण्डारणका लागि सिकाउने प्रयोगशालामा समेत काम गर्न थालिसकेका थिए। श्रेष्ठले प्रयोगशालाबाट सिकेको ज्ञानलाई आफ्नो बगैंचामा अधिकतम प्रयोग गरे। जसले उनलाई विशेषज्ञ बनायो।

श्रेष्ठ भन्छन्, ‘१२ वर्षको उमेरमा ज्यामिरलाई जुनार बनाएको थिएँ। त्यसपछि त्यसलाई अनुसन्धान र प्रयोग गर्दै जाँदा २०३८ सालसम्ममा लाखौं बिरुवा उत्पादन गरेँ। आफ्नोबाहेक जिल्लाका साबिक रतनचुरा, जलकन्या, तीनकन्या, बितिजोर, भुवनेश्वरी, भीमेश्वर, मझुवा, रानीचुरीलगायतका गाविसमा सयौं कृषकलाई जुनार खेती गर्न बिरुवा दिएर प्रोत्साहन गरे। त्यही जुनार अहिले जिल्लाकै पहिचान बनेका छन्।’

पूर्वी २ नम्बरको सिन्धुलीगढी अड्डामा सेनाको जम्दार भएर रिटायर भएका श्रेष्ठका बुबा मानबहादुर तत्कालीन गाउँ पञ्चायतका उपप्रधानपञ्चसमेत थिए। बुवाको राजनीतिमा पनि उत्तिकै सहयोग गर्दै आएका विष्णु श्रेष्ठ जुनार खेतीसँगै २०३८ सालमा प्रधानपञ्चसमेत निर्वाचित भए। तर, उनलाई राजनीतिभन्दा कृषि नै उन्नत लाग्यो। र एक वर्षमै प्रधानपञ्च छाडेर जुनारको विस्तारलाई नै पौरखी कर्म ठानेर लागे।

‘म २०३८ सालमा जुनार कृषक थिएँ। त्यो बेला नक्टाजिजमा काम पनि गर्दै त्यति नै बेला गाउँमा प्रधानपञ्च पनि जितेँ’, उनले प्रस्ट्याए, ‘जतिबेला प्रधानपञ्च जितेँ, त्यो बेला थाहा भयो, मेरा गाउँलेहरू राजनीतिले विभाजित भएछन्। गाउँमा सयमा ६० जना आफ्नो पक्षको ४० जना विपक्षमा भए जस्तै लाग्यो। त्यसपछि मलाई राजनीतिभन्दा सबैलाई समेटेर जुनारको विकास गर्न सके त्यही नै सबै गाउँलेको आम्दानीको स्रोत बन्न सक्थ्यो भन्ने लाग्यो अनि प्रधानपञ्च छाडेँ।’

गाउँमा प्रधानपञ्च छाडे पनि श्रेष्ठले नक्टाजिजको काम छाडेका थिएनन्। त्यो बेलासम्म सिन्धुलीमा ६ सयभन्दा बढी हेक्टर क्षेत्रफलमा जुनार खेती विस्तार भइसकेको थियो। श्रेष्ठले भने, ‘मलाई पनि जुनार आफ्ना सन्तान जस्तै लाग्न थालेको थियो। म जुनारसँग कुरा गर्न सक्ने भएको थिएँ। जुनारले के खान्छ, कति बेला मल, कति बेला पानी, कति बेला घाम खोज्छ भन्ने मलाई प्रस्ट थाहा हुन्थ्यो।’

संयोग भन्नुपर्छ श्रेष्ठले नक्टाजिजमै काम गरिरहेका थिए, तत्कालीन राजा वीरेन्द्र २०३८ सालमै नक्टाजिजको अवलोकनका लागि आउने भए। श्रेष्ठले राजालाई आफूले विकास गरेर फलाएको जुनार कोसेली दिने निधो गरे। र गाउँको बगैंचाबाट एक हजार दाना जुनार नक्टाजिजमा पुर्‍याएर राजा वीरेन्द्रलाई कोसेली टक्र्याए।

‘वीरेन्द्र सरकारले त्यति नै बेला जुनार फलबारे चासो राखिबक्सनुभयो’, श्रेष्ठले थपे, ‘राजाबाट यस्तो मीठो फललाई धेरै किसानको बगैंचामा विस्तार गर्न सुझाव आयो। मैले सरकार हामी जुनारबाट बाँच्न सक्छौं। तर, जुनार खेती गर्न मल, बिरुवा लगाउन अनुदान र औषधिको व्यवस्था गरिदिनुपर्‍यो भनेर बिन्ती राखे त्यो सरकारबाट मर्जी भयो। अहिले सबै कृषकले यस्तो सुविधा पाएका छन्।’

त्यतिबेलामै राजाको चासो र श्रेष्ठको पौरखी हात र मेहनतप्रति नक्टाजिजका जापानीहरूले पनि जुनारका विषयमा चासो दिन थाले। २०३८ सालभर जापानिजहरूले पनि जुनारको अनुसन्धान गर्न विजयछापमा नर्सरी नै राखेर बसे। त्यति बेला जापानीहरू रतनचुरामा घोडा लिएर आउनेजाने गर्थे। अनुसन्धानकै क्रममा जापानिजहरूले श्रेष्ठलाई भीआईपी कोटामा नौ महिनाका लागि २०३९ सालमा जापान लगे। जापानमा पाइने सिट्रस जातका बिरुवामा जुनारको साइन जडान गर्दै थ्रेडिङ गरेर जापानमा पनि जुनार फलको विकास गरिदिएपछि श्रेष्ठको पौरखको थप चर्चा हुन थाल्यो। नौ महिनापछि थप जापानीहरू श्रेष्ठसँगै नेपाल आए। उनीहरूसँग श्रेष्ठले नेपालमा आएर स्याउ र कटुसमा पनि जुनारको साइन निकाल्न परीक्षण गरे।

त्यसमा पनि सफल भएपछि जापानीहरूले नेपालमा जुनार खेतीको व्यावसायिक विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। फलस्वरूप सिन्धुलीमा फलेको जुनारलाई बजारसम्म पुर्‍याउन भन्दै बीपी राजमार्ग निर्माणमा जापानले सहयोग गर्‍यो। ‘जुनारकै कारण हो, यहाँ बीपी राजमार्ग पनि बनेको। यहाँ करोडौं मूल्यको लागतमा जापानले नै जुनार खेती गर्न, प्रविधि, औषधि, तालिम, भण्डारण र सुरक्षित बजारसम्म लैजान सहयोग गरेका छन्,’ उनले भने।

श्रेष्ठकै पहलमा जापानीहरूले पनि जुनार खेतीमा सहयोग गरेको थाहा पाएपछि राजा वीरेन्द्र पुनः २०४१ सालमा जुनार निरीक्षणका लागि सिन्धुली आए। त्यति बेला श्रेष्ठलाई राज वीरेन्द्रले जुनार फलको आविष्कार गरेको भन्दै प्रशंसापत्र पनि दिए। सिन्धुलीलाई जुनार क्षेत्र घोषणा गरे। जुनार खेती गर्नेहरूलाई सहुलियत ऋणको व्यवस्था गरिदिए। राजा वीरेन्द्रले घोषणा गरेको जुनार क्षेत्र आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘सुपर जुनार जोन’ भएको छ। साढे तीन सय जुनारका बोटबाट श्रेष्ठले तयार गरेका आठ लाख बिरुवा नेपालका विभिन्न जिल्लामा त्यसको तीन गुनाले फैलिएर विस्तार भएका छन्।

त्यति मात्र होइन, सुरुमा तयार गरिएका जुनारका बिरुवाबाट लगाएको १०÷११ वर्षमा फल लाग्ने गरेकोमा जापानबाट फर्केपछि श्रेष्ठले बिरुवा लगाएको एक वर्षमै फल लाग्ने जुनारको बिरुवा तयार पारेर जापानलाई नै चकित पारे।

‘खेती गरेर लामो समयसम्म आम्दानी कुरेर बस्ने कस्को फुर्सद हुन्छ र। अहिले एक वर्षमै जुनार फलाउन सकिन्छ। त्यसको अनुसन्धानबाट मैले बिरुवा नर्सरीमा तयार पारेको छु। पहिलो वर्ष थोरै दाना लाग्छ। तीन वर्षपछि एउटा बोटमा आठ सयदेखि एक हजारसम्म दान फल्छ। एक वर्षमै लाखौं आम्दानी लिन सकिन्छ’, उनी भन्छन्।

श्रेष्ठले नै उत्पादन सुरु गरेको जुनार सिन्धुली र रामेछाप जिल्ला उत्पादनका दृष्टिले अग्रणी र मुख्य पकेट क्षेत्रको रूपमा मानिन्छ। यस्तै काभ्रै, ओखलढुंगा, धादिङ, धनकुटा, म्याग्दी, बैतडी, डँडेलधुरा दोलखालगायत जिल्लामा पनि जुनारको व्यावसायिक खेती गरिँदै आइएको छ।

दुई बोट बिरुवाबाट लाखौं बोट र हजारौं हेक्टरमा जुनारको विकास गर्न सफल श्रेष्ठ भन्छन्, ‘जुनारको इज्जत गरेर व्यावसायिकताका लागि पौरख गर्न सके त्यसैबाट नाम, इज्जत र सम्पत्ति आर्जन गर्न सकिन्छ।’

श्रेष्ठ कहिल्यै थाकेनन्। जुनारका बीउ, बिरुवा र माटोसँग उनले जीवनका पसिना साटे। नयाँनयाँ अनुसन्धान एवं परीक्षणमा उनले एकपछि अर्को फड्को मार्दै गए। २०१८ सालपछि उनले १० लाखभन्दा बढी जुनारको बिरुवा उत्पादन गरेका छन्। त्यसबाट करोडौं रुपैयाँ आम्दानी भएको छ। श्रेष्ठकै पौरखले आठ हजारभन्दा बढी कृषक जुनारका सारथि भएका छन्।

एकै कृषकले वर्षमा साढे दुई लाखदेखि २५ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन्। यो त्यत्तिकै सम्भव भएको हौइन्। यो प्रकृतिले मात्र दिएको वरदान पनि होइन।

सयौं कृषकका हातमुख जोर्ने एउटा आधार हुन्, श्रेष्ठ। आज जुनारको जुन चर्चा छ। त्यो सबै श्रेष्ठकै देन हो भनेर उनलाई सम्झनेहरूको पनि उत्तीकै संख्या छ। श्रेष्ठ जुनार कृषकको नक्षेत्रमा कहिल्यै नअस्ताउने ताराका रूपमा स्थापित छन्, जसले आठ हजारभन्दा बढी जुनार कृषकलाई व्यावसायिक बनाए। ३२ हजार मेट्रिक टनभन्दा बढी जुनार उत्पादन गर्न बगैंचा विस्तारगरे। बर्सेनि ४० करोडभन्दा बढी आम्दानी भिœयाउने अवसर सिर्जना गरिदिए।

लठ्ठीकै सहारामा भए पनि अझै जुनारको विस्तारमा श्रेष्ठको सक्रियता उस्तै छ। उनको बगैंचामा अहिले पनि पाँच सयभन्दा बढी जुनारका बोट छन्। उनले यसै वर्ष ४८ रोपनी जमिनमा थप पाँच हजार बिरुवा विस्तारका लागि काम गरिरहेका छन्। जुन माटोमा जुनार फलाए, जुन माटोमा जुनारसँगै आफूलाई चिनाए, अझै उनलाई जुनारको जिल्लासँगै जुनारको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने धोको छ। – राजन गाउँले अन्नपूर्ण

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटलबाट लगानीअनुसारको मुनाफा निकाल्न गाह्रो छ : गौतमदास श्रेष्ठ

नेपालमा पर्यटनको सम्भावना भए पनि होटलबाट लगानीअनुसारको मुनाफा निकाल्न गाह्रो छ। त्यसैले सरकारले बढी खर्च गर्ने पर्यटक ल्याउनेबारे सरकारले सोच्नुपर्ने उनी ठान्छन्। गौतमदास श्रेष्ठ (८०) ले जीवनको अधिकांश समय होटल व्यवसायमा बिताए। विद्यार्थी छँदा नै हस्पिटालिटीलाई आफ्नो ‘प्यासन’ बनाएका उनले जब फ्रान्सबाट होटल म्यानेजमेन्ट अध्ययन गर्ने मौका पाए, तब यसको […]