प्रदेश ५ सरकारको ५१ करोडको कोभिड विशेष कृषि कार्यक्रम

Royal Times
Read Time:6 Minute, 28 Second

१ जेठ, बुटवल । प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयाँ साउन मसान्तसम्म खर्च गर्ने सरकारको लक्ष्य छ ।

कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ खर्च गरिने छ । यस्तै बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

यो कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन हुने र यसबाट ५ सय किसान लाभान्वित हुने छन् । किसानले कम्तीमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गर्नुपर्ने र प्रति रोपनी ६ हजार रुपैयाँको दरले अनुदान पाउने छन् ।

प्रदेश सरकारले व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमका लागि १४ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम जिल्लामा सञ्चालन हुने यो कार्यक्रममा कम्तीमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने तोकिएको छ ।

मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिइने यो कार्यक्रमबाट ७ हजार जना लाभान्वित हुने प्रदेश सरकारको लक्ष्य छ ।

सरकारले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख रुपैयां खर्च गर्ने भएको छ । यो कार्यक्रम प्रदेशका सबै पालिका अर्थात १ सय ९ वटै स्थानीय तहमा सञ्चालन गर्ने भएको छ ।

यो कार्यक्रममा प्रतिकिसान २० हजार रुपैयाँका दरले मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने छ । यसबाट १० हजार ९ सय जना लाभान्वित हुने प्रदेश सरकारको प्रक्षेपण छ ।

यस्तै ब्रोइलर कुखुरापालन, साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड रुपैयाँ खर्च गर्ने भएको छ । यसमा २ हजार किसानलाई ३५ हजार रुपैयाँका दरले अनुदान दिइने र ६ हजार जना लाभान्वित हुने छन् ।

दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैयाँ खर्च गरिने सरकारले जनाएको छ । यसमा दूध उत्पादनको विगत आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैयाँका दरले अनुदान दिइने छ ।

यस्तै बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च गर्ने सरकारको लक्ष्य छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने यो कार्यक्रममा २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रति बिघा २० हजार रुपैयाँका दरले अनुदान दिइने प्रवक्ता चौधरीले बताए ।

यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

मन्त्रिपरिषद वैठकले प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

वैठकले रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि गरेको छ ।

यस्तै केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने, जेठ ९ गते प्रदेश सभा वैठक आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

वैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्वारेन्टाइनको विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने, बुटवलमा कोरोना अस्पतालमा २ सय बेड थप्ने निर्णय गरेको छ ।

भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय पनि गरेको छ ।

विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय वैठकले गरेको छ । – अनलनइन खबर

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने

काठमान्डौ , पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार सं’कट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। हिजोको बैठकले हामीलाई अधिकार दिएको हो, एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी […]