धान उत्पादनमा वृद्धि तर भाते बानीका कारण नेपालीलाई अपुग

Royal Times
Read Time:7 Minute, 57 Second

Dhan photo
काठमाडौं: हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो) धान उत्पादन भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भए पनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबारमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजारमूल्यअनुसार एक खर्ब चार अर्ब मूल्यबराबरको धान उत्पादन भएको छ । बजारमा धानको औसत मूल्य २० रुपैयाँ प्रतिकिलो छ ।

‘चालू आर्थिक वर्षमा हालसम्मकै उत्पादनको इतिहासमा सबैभन्दा बढी उत्पादन भएको हो’, मन्त्रालय उच्च स्रोतले शनिबार अन्नपूर्णसँग भन्यो, ‘पछिल्लो समयमा उत्पादकत्व वृद्धि हुँदा सोचेभन्दा राम्रो प्रतिफल आएको छ । यस वर्ष ५२ लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन भएको छ । यही अवस्थामा उत्पादन भइरहने हो भने छिट्टै चामलमा नेपाल आत्मनिर्भर हुनेछ ।’

मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार यसअघि गत आर्थिक वर्ष २०७०७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो । स्रोतका अनुसार गत आर्थिक वर्ष २०७२७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३७४ मा झन्डै नौ लाख मेट्रिक टन बढी धान फलेको छ । गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७१७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो ।
सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादनमा आएको उल्लेख्य प्रगतिका कारण चालू आर्थिक वर्षमा ठूलो परिमाणमा चामल आयात नहुने दाबी गरे ।

नेपाल राष्ट्रबैंकका अनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ । ‘खाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छ’, सापकोटाले भने ।
मन्त्रालयका अनुसार समयमै उपलब्ध भएको उन्नत जातका बिउ, रासायनिक मल र सिँचाइका कारण यसपटक उत्पादन तथ्यांकले ‘ब्रेक’ गरेको हो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यस वर्ष झन्डै १४ लाख हेक्टरमा रोपाइँ भएको थियो । अघिल्लो वर्ष मुलुकभर गरी चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन ।

यस्तै तराईका करिब १२ जिल्ला र कर्णालीमा गरी ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । रोपाइँ भएको क्षेत्रफलमा सिँचाइको अभावसँगै बन्दहडताल र नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारतसहित तेस्रो मुलुकबाट आउनुपर्ने मल नआउँदा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान उत्पादन भएको थियो ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिले ३३ प्रतिशतका दरले पाँच खर्ब ८० अर्बको योगदान गर्दै आएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । धानले मात्रै एक खर्बको योगदान जीडीपीमा पुर्‌याउँदै आएको छ । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ । सापकोटाले भने, ‘कृषिमा धानको योगदान धेरै भएकाले धान उत्पादन घटेको वर्ष मुलुकको आर्थिक वृद्धिदर खुम्चिने र धानको उत्पादन वृद्धिदर दोहोरो अंकमा पुग्दा आर्थिक वृद्धिदर बढ्ने गरेको तथ्यांक छ ।’

मन्त्रालयका अनुसार उन्नत जातको बिउ प्रयोगका कारण पछिल्लो वर्षहरूमा प्रतिहेक्टरबाट धान उत्पादकत्व पनि निकै बढेको छ । २०६७६८ सम्म प्रतिहेक्टरबाट दुई हजार नौ सय ८१ किलो धान उत्पादन हुँदै आएको थियो । २०६८६९ देखि प्रतिहेक्टरमा उत्पादकत्व वृद्धि भएर तीन हजार तीन सय १२ किलोमा पुगेको छ । ‘प्लटिङ र पूर्वाधार निर्माणका नाममा धानखेती योग्य क्षेत्रफल फाँडेर प्लटिङ भइरहेको अवस्थामा निश्चित क्षेत्रफलबाट उत्पादकत्वमा आएको वृद्धिका कारण पनि धानको उत्पादन बढेको हो,’ सापकोटाले भने ।

भाते बानीका कारण नेपालीलाई अपुग

यस वर्ष सर्वाधिक परिमाणमा धान फले पनि सबै नेपालीलाई वर्षभरि भातमात्रै खान भने यो धानले अपुग देखिन्छ । नेपालको कुल जनसंख्या दुई करोड ८१ लाख चार हजार दुई सय ८९ जनालाई खानाका रूपमा भातमात्रै खुवाउन वार्षिक तीन अर्ब ४२ करोड ८७ लाख २३ हजार दुई सय ५८ किलो (३४ लाख २८ हजार सात सय २३ मेट्रिक टन) चामल आवश्यक पर्छ ।

यसपटक पाँच अर्ब २० करोड धान फलेको छ । यो धानबाट करिब तीन अर्ब १२ करोड किलो (३१ लाख २० हजार मेट्रिक टन) चामल तयार हुन्छ । सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । यसरी हेर्दा सम्पूर्ण नेपालीलाई वर्षभरि भातमात्रै खुवाउँदा तीन लाख आठ हजार सात सय २३ मेट्रिक टन (३० करोड ८७ लाख २३ हजार किलो) चामल अपुग हुन्छ । एकजनालाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ ।

मन्त्रालयले भने खानाका रूपमा खाद्यान्न (चामल, गहुँ, मकै ) प्रयोग गरेमा सम्पूर्ण जनसंख्याका लागि २६ लाख मेट्रिक टन चामल आवश्यक पर्ने जनाएको छ । खानाका रूपमा चामल, गहुँ र मकै प्रयोग गर्दा भने यस वर्ष पाँच लाख २० हजार चामल बचत हुने अवस्था छ । ‘खाद्यान्नका रूपमा चामलसहित गहुँ र मकै पनि प्रयोग भयो भने यस वर्ष चामल बचत भएर आयात दर निकै घट्ने मन्त्रालयको प्रक्षेपण छ,’ प्रवक्ता कार्कीले भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो सरकार न विकास गर्न सक्छ, न यसमा विकास गर्ने मान्छे नै छन् । - ओली

सुदूरपश्चिममा सबै कुरा अन्तिमा आउँछन् । चार विकासक्षेत्रमा सरकारी लगानीको मेडिकल कलेज बने । तर, सुदूरपश्चिममा घोषणा भएर पनि अहिलेसम्म कलेजको जगसमेत खनिएको छैन । चार विकासक्षेत्रमा क्षेत्रीय अस्पताल, विश्वविद्यालय छन्, सुदूरपश्चिममा भने क्षेत्रीय अस्पताल पनि छैन । भएको विश्वविद्यालय पनि भर्खर बामे सर्दै छ । अन्य विकासक्षेत्रमा व्यापारिक हिसाबले […]