राष्ट्रपतिको छोरा–छोरी हुनुका दुःख

0
309
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स


अहिले सबैभन्दा बढी चर्चामा भएका राष्ट्रप्रमुख हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । २० जनवरीमा राष्ट्रपति पदको शपथ खाएका ट्रम्पको चर्चा त उनले राष्ट्रपतिका लागि उम्मेदवारी दिने निर्णय भएपछि नै सुरु भएको थियो । तर, यो चर्चा, आलोचना र प्रशंसा उनमा मात्र सीमित रहेन, लगत्तै उनको परिवारको चर्चा पनि चुलियो ।

देशप्रमुख भएको नाताले र विभिन्न सन्दर्भमा दिएका अन्तर्वार्ताका कारण अमेरिकी राष्ट्रपति ट्रम्पको बारम्बार सामाजिक सञ्जालमा आलोचना पनि भइरह्यो । तर, यो आलोचना पनि उनीमा मात्र सीमित भएन । यही समस्यामा परे उनका श्रीमती र बच्चाहरू पनि ।

ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी सार्वजनिक गरेलगत्तै उनका कान्छा छोरा बारोनको पनि सामाजिक सञ्जालमा नाम लिन थालियो । आलोचकले ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्जालमा ट्रम्पका कमजोरी मात्र लेखेनन्, बाबुको नामसँगै बारोनको पनि नाम त्यहाँ लेख्न थालियो ।

तर, डोनाल्ड ट्रम्पकै आलोचना गरिरहेका केहीले भने त्यति वेला १० वर्षका बारोनको समर्थन पनि गरिरहेका थिए । उनीहरूको तर्क थियो– राजनीतिक झगडामा ट्रम्पबाट छोरा बारोनलाई टाढै राखिनुपर्छ ।

मंगलबार अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउसले पनि यही सन्दर्भमा विज्ञप्ति निकाल्यो । यो विज्ञप्तिले पनि बच्चाहरूलाई राजनीतिक मुद्दामा नमुछ्न अनुरोध गरेको छ । विज्ञप्तिमा लेखिएको छ– अमेरिकाको एउटा पुरानो परम्परा हो, जसअनुसार बच्चाहरूलाई राजनीतिक फोकसभन्दा बाहिर राखेर आफ्नो विकास गर्ने अवसर दिनुपर्छ ।

तर, यो विज्ञप्तिमा ट्रम्पले आफ्ना छोरा वा छोरीको विषयमा केही पनि भनेका थिएनन्, उनीहरूको नाम लिएका थिएनन् । नाम नलिए पनि त्यसमा अमेरिकाको पुरानो परम्परा सम्झाउँदै अगाडि बढ्न अनुरोध गरिएको थियो ।

जब यो विज्ञप्ति आयो, त्यसपछि पनि यसबारे टिप्पणी हुन थालिहाल्यो । यो टिप्पणीमा सबैभन्दा अग्रपंक्तिमा आइन्, टिभी लेखिका केटी रिच । उनले ट्विटरमा लेखेकी थिइन्– बारोन यस्ता पहिलो सेलेब्रिटी बच्चा हुन्, जसको शिक्षा घरमै पूरा हुनेछ ।

रिचको यो टिप्पणी सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बन्यो । कतिसम्म भने केही घण्टामै रिचले यसलाई फिर्ता लिइन् । उनले आफ्नो ‘संवेदनशील’ अभिव्यक्तिका लागि माफी मागिन् । तर, उनको टिप्पणीमाथि सामाजिक सञ्जालमा मात्र आलोचना भएन, टिभीले उनलाई अनिश्चित कालका लागि प्रतिबन्ध नै लगाइदियो ।

रिचको यही टिप्पणीपछि फेसबुकमा एउटा पोस्ट आयो । त्यो फेसबुक पोस्टमा लेखिएको थियो– कुनै पनि बच्चासँग यस्तो व्यवहार हुनुहुँदैन जस्तो बारोनसँग भयो । यसलाई लाखौँले फेसबुकमा सेयर गरे । अर्को अर्थमा भन्ने हो भने यो पोस्ट निकै छोटो समयमा भाइरल भयो ।

गत वर्ष ८ नोभेम्बरमा जब राष्ट्रपति ट्रम्पले निर्वाचन जिते, त्यतिवेला पनि उनका छोरा बारोन आलोचनाका सिकार भएका थिए । त्यतिवेला त बारोनको अभिव्यक्तिमाथि टिप्पणी मात्र गरिएन, विभिन्न टिभीले निकै लामा सिरियल पनि त्यसमा चलाए ।

तर, यस्तो भएको यो पहिलोपटक होइन । अमेरिकी राष्ट्रपतिको सन्तान हुनुका यस्ता पीडा बारम्बार भएका छन् । बारम्बार अमेरिकी राष्ट्रपतिका सन्तान राजनीतिक खिचातानीका सिकार बन्दै आएका छन् ।

पूर्वराष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी पनि यस्तो समस्यामा परेकी थिइन् । एउटा कमेडी रेडियो कार्यक्रममा उनलाई कुकुरसँग तुलना गरिएको थियो । त्यसो त त्यतिवेला (सन् १९९३) मा सामाजिक सञ्जाल थिएन । तर, पनि चेल्सीले निकै आलोचना खेप्नुपरेको थियो ।

कतिसम्म भने यसलाई रोक्न राष्ट्रपति क्लिन्टन स्वयंले कुनै पनि किशोरीमाथि ठट्टा गर्नु अत्यन्त संवेदनशील भएको बताएका थिए । आठ वर्षको कार्यकालको दौरान पूर्वराष्ट्रपति बाराक ओबामाका दुवै छोरीको पनि बारम्बार आलोचना भएको थियो । उनीहरूले लगाएका कपडा तथा उनीहरूको रंगमाथि पनि निकै आलोचना भयो ।

त्यस्तै, पूर्वराष्ट्रपति जर्ज बुसका जुम्ल्याहा छोरीहरू र पूर्वराष्ट्रपति जिम्मी कार्टरका छोरीहरू पनि आलोचनाका सिकार यसकारण मात्र बने कि उनीहरूका पिता सार्वजनिक जीवन बिताइरहेका थिए ।